Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोनाको दोस्रो लहर

अस्पतालहरुमा कोभिड बिरामी र तीनका आफन्तको क्रन्दन

अस्पतालहरुमा कोभिड बिरामी र तीनका आफन्तको क्रन्दन

  • सोमवार, बैशाख १३ २०७८

  • 989
    SHARES

  • अस्पतालहरुमा कोभिड बिरामी र तीनका आफन्तको क्रन्दन

    काठमाडौँ – कोरोना भाइरसको दोस्रो लहरको डढेलो फैलिएपछि नेपालमा अवस्था भयावह हुनसक्ने संकेत देखिएको छ ।

    संक्रमणदर दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ भएका छन् । कोरोना संक्रमितको चाप बढेपछि अस्पतालमा बेडसमेत नपाउने अवस्था सिर्जना भएको छ भने उपचारका लागि स्वास्थ्यकर्मीको पनि अभाव भएको छ ।

    संक्रमण भएर अस्पताल पुगेका बिरामी तथा कुरुवाहरु उपचार नपाएर छटपटिन थालेका छन् । योसँगै अस्पतालहरुमा रोदन र चिच्याहट सुरु भएको छ ।

    केही दिनअघि मात्रै कोरोना संक्रमणबाट स्टाफ नर्स रहेकी छोरी गुमाएका दाङका सन्तोष वलीले अहिले आफू र श्रीमतीलाई पनि संक्रमण भएकोले ज्यान जोगाउन चाउचाउ खाएर संघर्ष गरिरहेको दुःखेसो पोख्नुभयो । अस्पतालमा बेचैन हुँदा स्वास्थ्यकर्मी नभेटिने उहाँको गुनासो छ ।

    संक्रमणको दोस्रो लहर बिजुली गतिमा फैलिएपछि आइसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको संख्या बढिरहेको कोभिड संक्रमितको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । तर अस्पतालहरुमा कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको छ ।

    कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन् । भर्ना भएका विरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डाक्टर संकेत रिसालले बताउनुभयो ।

    यसैबीच संक्रमण रोकथामका लागि देशका विभिन्न जिल्लाहरुमा लकडाउन घोषणा गरिएको छ । केही जिल्लाहरुमा लकडाउन लागू भइसकेको छ । राजधानी काठमाडौँमा पनि आगामी बिहीबारदेखि लकडाउन लागू हुने घोषणा गरिएको छ ।

    लकडाउनअघि काठमाडौँ छाड्न चाहनेहरुका लागि भोलि र पर्सी गरी दुई दिनको समय दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    कोरोना संक्रमण रोकथामका लागि व्यापक मिहेनत गर्नुपर्ने बेला सरकार सत्ता जोगाउन सडकमा जुलुस प्रदर्शन गर्न निस्केको थियो ।

    संक्रमण रोकथामका लागि जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउनुको साटो प्रधानमन्त्री ओलीले आफै भिडभाड गरेर कोरोनासँग खेलवाड गरेको नतिजा अहिले मुलुकमा देखिँदैछ र प्रधानमन्त्रीले गरेको अपराधको सजाय आम नागरिकले भुक्तान गर्नुपर्ने विडम्वनापूर्ण अवस्था श्रृजना भएको छ ।


    सोमवार, बैशाख १३ २०७८०७:५३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij