काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकअघि आफ्ना केन्द्रीय पदाधिकारी, सदस्य र उनीहरुका सहयोगीको पिसिआर परीक्षण गर्दै छ ।
कोरोना भाइरस महामारी अनिन्त्रित रुपमा फैलिएका बेला कांग्रेसले आज दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक दुई दिनपछि सारेर केन्द्रीय पदाधिकारी, केन्द्रीय समितिका सदस्य, आमन्त्रित केन्द्रीय सदस्य तथा उनीहरुका सहयोगीको पिसिआर परीक्षण गर्न लागेको हो ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यालय विपीनगर, सानेमा पिसिआर परीक्षण गरिँदैछ ।
‘आज पिसिआर परीक्षण गरिँदैछ त्यसको रिपोर्ट भोलि (मंगलबार)सम्ममा आइसक्छ’, उहाँले भन्नुभयो, ‘त्यसपछि बुधबार केन्द्रीय समितिको बैठक बस्न लागेका छौं ।’
केन्द्रीय समिति बैठक महाधिवेशनकै विषयमा केन्द्रीत हुने डा. महतले बताउनुभयो । कार्यतालिकाअनुसार अघि बढ्नु चुनौतिपूर्ण रहेको उहाँको भनाइ छ । त्यसैले, सबैको समझदारीबाट बढ्न आवश्यक भएको उहाँले बताउनुभयो ।