काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सूचना जारी गरेको छ ।
यसरी परीक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ । त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियमअनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ ।
पछिल्लोसमय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिस नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन् । त्यसरी आएका मानिसहरूले नेपालमा पनि पिसिआर परीक्षण गराउँदै आएका थिए ।
अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालालाई निर्देशन दिएको हो ।
साथै मन्त्रालयले नेपालबाट विदेश जानेहरूका लागि सरकारी अस्पताल र ६ वटा निजी अस्पताल तोकेको छ ।
निजी अस्पतालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, मनमोहन अस्पताल, टिचिङ हस्पिटल र यूनिभर्सल अस्पताल भैरहवा छन् ।