Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको खोपको दोस्रो डोज आजदेखि लगाइने

कोरोनाविरुद्धको खोपको दोस्रो डोज आजदेखि लगाइने

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.3K
    SHARES

  • कोरोनाविरुद्धको खोपको दोस्रो डोज आजदेखि लगाइने

    काठमाडौं । सरकारले मंगलबार (आज)बाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ ।

    खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई आजदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने बताउनुभयो ।

    पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।

    मन्त्रालयले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तालिका नै सार्वजनिक गरेको छ ।

    २०७७ माघ १४, १५, १६, १७ र २६ गते पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिइने छ । यसैगरी माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुलाई वैशाख ८ गते दोस्रो डोज दिइने छ ।

    माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउने पालो वैशाख ९ गते तोकिएको छ ।

    यसैगरी माघ २९ र फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते तथा माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले दोस्रो डोज वैशाख ११ गते लगाउनु पर्ने छ ।

    खोप लगाउन जाँदा खोपकार्ड र आफ्नो परिचयपत्र पनि साथमा राख्नुपर्ने मन्त्रालयले आग्रह गरेको छ ।

    खोप लगाउन काठमाडौं उपत्यकाभित्र १९ अस्पताल तोकिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।


    मंगलवार, बैशाख ७ २०७८०८:१७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij