काठमाडौं । प्रदेश २ प्रदेशसभा बैठक सोमबार (आज) बस्दै छ । प्रदेशको पाँचौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे आह्वान गरिएको छ ।
प्रदेश सरकारले प्रदेशसभा बैठक छल्दै आएको थियो । ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसैकारण पाँचौं अधिवेशन बोलाइएको हो ।
प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो । संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बस्न नसकेको सांसद यादवले बताउनुभएको छ ।
नेकपा विभाजन र राजपा र संघीय समाजवादी पार्टी एक भएर जनता समाजवादी पार्टी बनेकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।
पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराउने र शुभकामना दिने कार्यसूची तय भएको छ ।
यता, प्रदेश २ नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोलाई चयन गरिएको छ ।
एमाले संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकको बहुमतले सत्यनारायण मण्डललाई दलको नेताबाट हटाएर महतोलाई चयन गरेको हो ।
एमालेभित्रको विवाद प्रदेश २ मा पनि देखिएको छ ।