काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणको दोस्रो जोखिमबाट नागरिकलाई बचाउन कार्य योजना सार्वजनिक गर्ने भएको छ ।
कोरोनाभाइरसको संक्रमण उकालो लाग्दै गएपश्चात सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्न थालेको छ ।
बैले स्वास्थ्य मापदण्ड पालना गरे लकडाउन गर्नुपर्ने अवस्थासम्म पुग्नु नपर्ने आकलन गर्दै स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ ।
२५ जनासम्म भेला हुँदासमेत सबैले कोरोना संक्रमणविरुद्ध उचित स्वास्थ्य मापदण्ड भने अपनाएकै हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभएको छ ।
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट बचाउने कार्य योजना छिट्टै सार्वजनिक गरिने बताउनुभएको हो ।
मन्त्री गुरुङले कस्तो आचारसंहिता, मापदण्ड अपनाउने भन्ने योजना चाँडै सार्वजनिक गर्ने बताउनुभयो ।
उहाँले कोरोनाबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोच राखिरहेको जानकारी दिनुभएको छ ।