काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने छ ।
माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्ने छ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।
नयाँ सरकार गठनमा अग्रसरता देखाएको माओवादी केन्द्रले आजै जनता समाजवादी पार्टी (जसपा)सँग छलफलसमेत गर्दै छ । अंकगणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक बनेको छ ।
जसपासहितका विपक्षी दलका नेताहरुले माओवादीले समर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पनि नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।