काठमाडौं । अहिले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरस भएको छ । भिडियोमा एकजना युवालाई तीन–चारजना युवाले निर्घात पिटिरहेको देख्न सकिन्छ । ती युवालाई एउटा समूले हेल्मेट र लात्तैलात्तले हानेको देख्न सकिन्छ । बीच सडकमा भएको उक्त घटना हुँदा वरिपरि मानिसहरु देखिन्छन् । तर, कसैले पनि छुट्यान सकेको देखिँदैन । सामाजिक सञ्जालमा भाइरल यो भिडियोका कुटाइ खाने र कुट्नबारे धेरैले जिज्ञासा उठाएका थिए । यसको उत्तर अहिले आएको छ ।
यस्तो रहेछ घटना
मित्रनगरस्थित नयाँ बसपार्कको २ नम्बर गेट अगाडि सडकमा एकजना युवालाई तीन-चार जना मानिसको समूह मिलेर सोमबार कुटपिट भएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा सुनसरी घर भएका अमर लिम्बू श्रीमतीसँग बाटो हिँडिरहेका बेला केही युवाहरुले उनकी श्रीमतीलाई जिस्काएका थिए । श्रीमती जिस्काउनेलाई लिम्बूले गाली गरेपछि उल्टै पिटिएका थिए उनी उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी गाउँपालिका–४ घर भई टोखा नगरपालिका–५ धापासी बस्ने ४५ वर्षीय दीपेन्द्र थापा, गोरखाको गण्डकी गाउँपालिका–१ घर भई काठमाडौं ढुंगेधारा बस्ने ३० वर्षीय सोमबहादर गुरुङ र तनहुँको बन्दीपुर–६ घर भई ढुंगेधारा नै बस्ने २३ वर्षीय भरत गुरुङ रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
उनीहरुलाई वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाविरुद्द अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।