काठमाडौं । काठमाडौंको महांकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आज दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो ।
सुरुङ सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।
उक्त पानी आज दिउँसोदेखि नै चावहिल महांकालचौर क्षेत्रमा वितरण गरिने केयुकेएलको भनाइ छ ।
‘पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज दिनभरिमा ४ करोड लिटर पानी महांकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने योजना छ’ केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो ।
आज साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ । आइतबार काठमाडौं उपत्यकामा मेलम्चीको ४ करोड लिटर पानी वितरण गरिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिए ।