काठमाडौं । शुक्रबार निधन हुनुभएका कांग्रेस नेता नवीन्द्रराज जोशी निष्ठावान र मेहनेती नेताका रुपमा चिनिनुहुन्थ्यो । यसको पुष्टि उहाँको निधनपछि विभिन्न पार्टीका नेता तथा आममानिसले दिएको अभिव्यक्तिले गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आज ट्विटरमार्फत नेता जोशीलाई इमान्दार र स्वच्छ छवि भएका नेताको संज्ञा दिनुभएको छ ।
‘इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनको खबरले दुःखी भएको छु । उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, उहाँले लेख्नुभएको छ ।

जोशीको जन्म ०१८ साल असार ३ गते काठमाडौमा भएको थियो । उहाँले विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ नेविसंघको महामन्त्री हुनुभएको थियो भने ०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर हुनुभयो । सो वेला उहाँ २७ वर्षको मात्र हुनुहुन्थ्यो ।
नेता जोशी ०६४ र ०७० मा प्रतिनिधिसभा सदस्य पनि हुनुभएको थियो । त्यस्तै, ०६४ देखि ६७ सम्म कबिर करिब पाँच वर्ष उहाँ कांग्रेस संसदीय दलको प्रवक्तासमेत हुनुभएको थियो ।
काठमाडौं सहरको आधुनिकीकरण र सम्पदा संरक्षण दुवैमा जोशीले योगदान गरेको उहाँ निकटहरु बताउँछन् ।

जोशी कांग्रेस संस्थापक नेताहरु विपी कोइराला र गणेशमान सिंहबाट प्रभावित हुनुहुन्थ्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री भएका वेला उहाँ उद्योगमन्त्री हुनुभएको थियो ।
जोशीले मन्त्रालयको जिम्मेवारी सम्हालेका बेलामा बन्द उद्योगहरु खुलाउने, लगानी सम्मेलन गर्ने, युवाहरुलाई उद्यममा लगाउने धेरै कार्यक्रमहरु ल्याउनुभएको थियो ।
जतिबेला औषधी लिमिटेड मृत अवस्थामा थियो । जोशीले नै औषधि लिमिटेडलाई पुनर्जीवन दिनुभएको थियो ।
जसको विरोध औषधि उद्योगीहरूबाट भएको थियो । हाल निकै सस्तोमा लिमिटेडले सिटामोल, जीवनजललगायतका औषधि उत्पादन गर्दै आएको छ ।
झण्डै एक महिनादेखि उपचार गराइरहनु भएका जोशीको काठमाडौंसिस्त नर्भिक अस्पतालमा शुक्रबार बेलुका साढे ८ बजे निधन भएको हो ।