काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठक शुक्रबार (भोलि) बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिनुभएको छ ।
ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो । ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो’, ज्ञवालीको भनाइ छ ।
यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् ।
बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नै वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरुलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएको छ । उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरु जुटेका छन् ।