काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट जोगिन भन्दै नेपालमा सरकारले लकडाउन घोषणा गरेको एक वर्ष पूरा भएको छ ।
एक वर्ष अघि (०७६ चैत ११ गते) आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना सङ्क्रमणको दर बढेसँगै सतर्कता अपनाउन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो ।

एक सय २० दिन लामो लकडाउन गत साउन ६ गते अन्त्य भएको थियो । त्यसपछि प्रायः सबै क्षेत्र खुल्न थालेका थिए । यद्यपि, घट्दै गएको कोरोनाको संक्रमण दर अहिले फेरि बढेको छ । हाल खोप कार्यक्रम सञ्चालन भएपछिको अवस्थामा पनि नेपालमा कोरोना सङ्क्रमित बढेका छन् ।
भारतमा सङ्क्रमित बढ्न थालेपछि नेपालमा पनि त्यसको असर देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारतबाट फर्केकाहरुमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।
पछिल्लो दुई दिनमा कैलाली र कञ्चनपुरका गरी तीनजना भारतबाट फर्केकाहरुमा कोरोनाको सङ्क्रमण देखिएको छ । जसले गर्दा त्यहाँ केही कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
सुदूरपश्चिम प्रदेका विभिन्न भारतसँग जोडिएका नाकामा आउजाउमा कडाई गर्नुका साथै शंकास्पद व्यक्तिको आरडिटी परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि सुरु भएको छ ।
यसै क्रममा कञ्चनपुरमा मध्यरातिदेखि विभिन्न गतिविधिमा रोक लगाइएको छ । गएराति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।
उहाँले बिहान ४ बजेदेखि राती १० बजेसम्म मात्र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी आवश्यक काममा निस्कनका लागि सबैलाई आग्रह गरिएको पनि बताउनुभयो ।
यस्तै, प्रदेश २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ ।
तस्बिरहरु : नेपाली नेटवर्क (फाइल तस्बिर)