काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान च्यात्न गणतन्त्र विरोधी लागेको दाबी गर्नुभएको छ।
संविधान स्वीकार गर्न नसकेका स्वदेशी र विदेशी प्रतिक्रियावादीहरू मिलेर एउटा धार बनेको उल्लेख गर्दै उहाँले संविधान निस्तेज पार्ने मानिसका रूपमा उनीहरूले केपी ओलीलाई भेटेको दाबी गर्नुभयो।
‘यो संविधान पनि सिध्याउन सक्ने केपी ओली नै रहेछ, गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडिया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने, २०–२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो भन्दै हेर्दै जाँदा सबैले केपी नै देखियो भनेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रूपमा केपीजीलाई साथ लिएका छन्। कति दिनलाई लिन्छन् मलाई थाहा छैन,’ उहाँले आज आयोजित ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा नेपाल दलित मुक्तिमोर्चाले गरेको कार्यक्रममा भन्नुभयो।
सबैलाई पहिचान र अधिकार दिन तथा जागरण दिने काम आफूहरूले गरेको उहाँले बताउनुभयो। श्रमिक वर्गलाई माया गर्नेको एउटा धार र अर्को धार त्यसको विरोधी बनेकोले जनताले फैसला गर्ने बेला आएको उहाँले बताउनुभयो।
उहाँले आलोपालो अध्यक्षता र सरकार भनेरै विगतमा पार्टी एकता गरेको भए पनि प्रधानमन्त्री ओलीले जालझेल गरेको उहाँले बताउनुभयो।
‘केपीले जब जालझेल र षड्यन्त्र गर्न थाले, विधि पद्धतीको हत्या गर्न लागेपछि विद्रोहको झन्डा कसले उठायो? १९ पृष्ठ लामो दस्तावेज मैले लेखेको छु,’ उहाँले भन्नुभयो, ‘केपीको प्रवृत्तिले कसैको पनि मुक्ति सम्भव हुने देखिएन। उनले ठग्ने काम गरे। ठगठाग गर्ने सहमति लागू नगर्ने गरेपछि १९ पृष्ठ लामो दस्ताबेज लेखेँ।’