काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्रीलाई प्रतिगमनका लागि पश्चाताप गर्दै संसद्मा आउन आह्वान गरेकी छन् ।
उनले राजनीतिक समस्याको समाधान संसद्भित्रैबाट खोजी गर्न आग्रह गरिन् ।
“समस्याको समाधान संसदभित्रै खोजौँ, कुनै दरबारमा सहमतिको खोजी गर्नतर्फ नलागौँ,” राष्ट्रपति निवासको सर्वदलीय बैठकतर्फ संकेत गर्दै भुसालले भनिन्, “फेरि विघटनको धम्की दिइँदै छ । गैरजिम्मेवार पुग्यो, अब योभन्दा बढी नदेखाऔँ ।”
नेकपा माओवादी (केन्द्र) की सचेतक समेत रहेकी भुसालले आफूले नै बनाएको प्रधानमन्त्रीले आफूहरुविरुद्ध नै षड्यन्त्र गरेको टिप्पणी गरेकी छन्।
भुसालले भनिन्, ‘हामीले नै बनाएको प्रधानमन्त्री, हामीले नै बनाएको सरकार, हामीले नै बनाएको संसदीय दलको नेता, हामीले नै बनाएको अध्यक्षले षड्यन्त्रपूर्वक हामीविरुद्ध नै काम गर्नुभयो। हामी जिउँदै छौं भनेर पलेंटी कसेर सडकमा बस्नुपर्ने अवस्था आयो।’
हिउँदे अधिवेशन आह्वान गर्ने ढोकैमा पुगेका बेला विघटन भएको प्रतिनिधिसभा जनताको संघर्ष र सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित भएको उनले बताइन्।
माओवादी केन्द्रले संसद् बोलाउन निवेदन दर्ता नगर्ने राष्ट्रपतिले प्रतिनिधिसभा विघटन स्वीकृत गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
पार्टीको घोषणापत्रले जनताका सवालमा काम गर्ने प्रतिबद्धता जनाए पनि प्रधानमन्त्री ओली त्यसका विरुद्धमा लागिरहेको उनले बताइन्। ‘जो व्यक्ति आफ्नो जीवनमा लोकतान्त्रिक शैलीमा चल्दैन, त्यस्तो व्यक्तिले लोकतन्त्र र संविधानको रक्षा गर्न सक्दो रहेनछ।’
उनले राजनीतिमा नैतिकताको मूल्य हुन्छ कि हुँदैन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरिन्। ‘राजनीतिमा नैतिक मूल्यको अलिकति पनि स्थान छ कि छैन रु अहिले पनि जिताहा शैली देखाउने रु प्रधानमन्त्रीसँग रहेका मन्त्री, सांसद र कार्यकर्ता साथीहरु बिहान–बिहान योग गर्ने समयमा छातीमा हात राखेर सोच्नुस् त प्रधानमन्त्री नैतिकता देखाउँदै हुनुहुन्छ ?’ उनले प्रधानमन्त्री ओलीलाई संघीयता, समानुपातिक र समावेशिता मन नपर्ने दाबी समेत गरिन्।