काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई धुलो चटाउने बताउनुभएको छ ।
२ दिनदेखि जारी भेलाको अन्तिममा कार्यकर्ताले उठाएका सवालको जवाफ दिँदै नेता नेपालले संघर्ष गरेर ओलीलाई धुलो चटाउने बताउनुभयो ।
एमालेको नाममा गुटको भेला गर्नेलाई कानूनअनुसार कारबाही गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति पनि नेपालले चुनौती दिनुभयो । आफूहरू कारबाही खेप्न तयार रहेको उहाँले बताउनुभयो ।
‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । माथिबाटै शुरू गर्न सक्छन् पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं । घाँटी छिनाए पनि हाम्रो शीर ठडिरहन्छ केपी ओलीलाई चुनौती दिइरहन्छौं, नेपालले भन्नुभयो, ‘उनको लिस्टबाट हाम्रो नामहरू हट्ला । तर, कम्युनिष्ट आन्दोलनबाट हटाउने शक्ति पनि छैन सम्भव पनि छैन । मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धुलो चटाउँछौ।’
एकताअघिकै अवस्थामा एमाले फर्किनुपर्ने आफूहरूको बटमलाइन भएको भन्दै नेपालले त्यसमा कुनै हालतमा नझुक्ने दाबी गर्नुभयो । नेपालले पार्टी विवादलाई नेताहरूबीचको लडाइँको रूपमा मात्र नबुझ्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो नेता–नेताको ‘दन्त बजान’ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो । स्थायी कमिटी र पोलिटब्यूरोमा हामी बलियो छौं । केन्द्रीय कमिटीमा हाम्रो ८७, केपीका ८० छन् । उहाँहरूले केपी प्रवृत्तिविरुद्धको लडाइँमा तपाईंहरूको साथमा छौं भन्नुभएको छ । पुरानो कम्युनिष्ट आन्दोलनका योद्धाहरू पनि हामीसँगै हुनुहुन्छ । इमानदार नेताहरूको साथ हामीले पाएका छौं । ‘
आफूहरू नडराउने, नतर्सिने बेग्लै धातुको कम्युनिष्ट भएको भन्दै उहाँले ‘नेताहरू झुक्नुहुन्छु कि’ भनेर नसोच्न कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।