Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाली चलचित्रमा अनिवार्य लोकगीत, के लोकगीतका कारण हिन्दी गीतको प्रभाव कम भएकै हो ?

नेपाली चलचित्रमा अनिवार्य लोकगीत, के लोकगीतका कारण हिन्दी गीतको प्रभाव कम भएकै हो ?

  • नारायण जोशी
  • बिहिवार, चैत्र ५ २०७७

  • 2.6K
    SHARES

  • नेपाली चलचित्रमा अनिवार्य लोकगीत, के लोकगीतका कारण हिन्दी गीतको प्रभाव कम भएकै हो ?

    काठमाडौं । ०७२ सालमा बनेको नेपाली चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ गीत अहिले पनि वनभोज, विहे र पार्टीलगायत सुभकार्यमा घन्किरहेको सुनिन्छ । यस गीतलाई हालसम्म युट्युबमा ४ करोड २० लाखभन्दा बढी पटक हेरिएको छ । यो गीत मात्र होइन चलचित्र पनि ‘हिट’ नै भयो । यो चलचित्रका संगीतकार राजनराज सिवाकोटी हुन् ।

    rajan raj siwakoti.jpg

    संगीतका सिवाकोटीका अनुसार निर्माताद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले लोकलयमा आधारित एउटा गीत आफ्नो चलचित्र राख्न आग्रह गरेका थिए । सोहीअनुसार आफूले ‘सुर्के थैली खै’ तयार पाएको उनी बताउँछन् ।

    यसको सफलतासँगै अन्य निर्माता–निर्देशकले पनि लोक लयमा आधारिक गीत छनोट गर्न थाले । र, आफ्ना चलचित्रमा लोकलयको एउटा गीत अनिवार्य राख्न थालियो ।

    ०७० मा रिलिज भएको चलचित्र ‘गोर्खा पल्टन’का सबै गीत लोकलयमा आधारित छन् । यसमा राखिएका ‘जाउँला रेलैमा सरर’, ‘घामको माया जुनको माया’ र झ्याउरे भाकाको ‘सान्नानीले झुक्यायो मलाई’लगायतका गीतले निकै सफलता पाएका थिए ।

    त्यसैको परिणामस्वरुप पछिल्लो समयमा नेपाली गीत–संगीतले लोकप्रियताको फड्को मारेको पनि विश्लेषण हुने गरेको छ । यस्तो हुनुमा लोक तथा दोहोरी गीतहरुले पाएको व्यापकता र त्यसलाई चलचित्रमा पनि प्रयोग गरिनुलाई लिने गरिएको छ । यसको परिणामस्वरुप पछिल्लो एक–डेढ दशकयता नेपाली चलचित्रहरुमा पनि लोक फ्लेबरका गीतले स्थान पाएका छन् । त्यस्ता गीतहरु चर्चाको शिखरमा पनि पुगेका छन् ।

    ‘जाउँला रेलैमा सरर’, ‘सान्नानीले झुक्यायो मलाई’, ‘सुर्के थैली खै’, ‘पूर्व–पश्चिम रेल’, ‘कुटुमा कुटु’, ‘चरी चट्ट परी’, ‘रुपै मोहनी’, ‘देखन चम्फा’, ‘चरीले काफल टिप्यो’, ‘परान परान’, ‘पहिलो नम्बरमा’, ‘सिओडब्लू काऊ’लगायतका लोक लयका गीत चलचित्रमा समेटिएका गीत चर्चित छन् ।

    ‘घट्दैछ बलिउड प्रभाव’

    d513fefc.jpeg

    लोकगीतले चलचित्रमा अनिवार्य स्थान पाउनुभन्दा अगाडि नेपालमा विशेषगरी बलिउड चलचित्रका गीतको प्रभाव थियो । तर, चलचित्रमा लोकगीत अनिवार्य भएसँगै त्यो हट्दै गएको संगीतकार सिवाकोटी बताउँछन् ।

    ‘पहिले–पहिले वनभोज, विहे, पार्टीलगायतमा ‘मुन्नि बदनाम हुई’जस्ता हिन्दी गीतमा हामी नेपालीहरु नाच्ने गथ्यौं’, उनी भन्छन्, ‘तर अहिले त्यो अवस्था छैन । त्यस्ता ठाउँमा लोकफ्लेबरका नेपाली चलचित्रका गीत वा अन्य नेपाली गीत नै बढी सुनिन्छ ।’

    ०७० यता भने नेपाली लोकलयमा आधारित चलचित्र संगीतले बजार पिटेको संगीतकार सिवाकोटी बताउँछन् ।

    सुर्केथैली, पटुकी, चौबन्दी, झुम्के रुमाल, ठेकी, मदानी, पेरुङ्गोजस्ता लोप हुनै लागेका मौलिक शब्दावलीको प्रयोगले नेपाली मौलिकतालाई झल्काइरहेको र गीतलाई जीवन्त बनाएको यसका गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको भनाइ छ ।

    ‘मुन्नी बदनाम हुई’जस्ता गीतमा नाच्ने हाम्रा नानी–बाबुहरु अहिले ‘सुर्केथैली खै’मा नाच्दा पहिले हामीसँग त्यस्ता नाच गान गर्ने गीत नभएको होकी जस्तो पनि लाग्यो’, उनी थप्छन्, ‘अहिले त्यस्ता प्रशस्त गीत भएकाले अहिले नाच गान गर्ने नानी–बाबुहरुले पछि गएर बाल्यकालका त्यस्ता लोपुन्मुख शब्दलाई खोजी गर्ने र हाम्रो मौलिकतालाई पछिल्लो पुस्तामा बाड्न सक्ने मेरो विश्वास छ ।’

    लोकसंगीतको लोकप्रियताका कारण पछिल्लो समयमा नेपाली संगीत सुन्ने स्रोता बढेको, त्यसले गर्दा बलिउड संगीतको प्रभाव कम भएको तर पूरै विस्थापित नै भएको चाहिँ भन्न नमिल्ने उनको भनाइ छ । तर, पहिलेको तुलनामा भने नेपाली गीतको प्रभाव बढी नै भएको उनको दाबी भने छ । यस विषयमा उनले पुराना कुरा पनि सम्झिए । पहिले भारतीय गीत–संगीतसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली गीत कम भएर पनि नेपाली स्रोताको रोजाइमा बलिउड चलचित्रका गीत परेको संगीतकार सिवाकोटीले दाबी गरे ।

    ‘पहिले हामीसँग दर्शकलाई नचाउन सक्ने र सुन्न रुचाउने गीत नभएर पनि भारतीय चलचित्र संगीतको प्रभाव बढेको हो’, उनी भन्छन, ‘तर, अहिले भने त्यस्तो अवस्था छैन थुुप्रै नेपाली लोकशैलीका गीत दर्शकको रुर्चामा परेका छन् ।’

    ‘शब्दमा मौलिकता आवश्यक’

    Surke-Thaili-khai best 2.jpg

    नेपाली चलचित्रमा राखिएका अधिकांश लोकशैलीका गीत अहिले चलेका भए पनि ती सबै एकैनाश हुन नसक्ने संगीतकार सिवाकोटी बताउँछन् । शब्दमा मौलिकता भएका नेपाली लोकशैलीका गीतहरु लामो समयसम्म चल्ने र गीतलाई जुगान्तर बनाउने उनको भनाइ छ ।

    ‘मोहनी लाग्ला है’, ‘चट्ट रुमाल’ र ‘वारी जमुना पारी जमुना’, ‘रेसम फिरिरीजस्ता गीतले लोकसंगीतको अस्तित्व जोगाएको छ’, उनले दाबी गर्दै भने, ‘यस्ता गीतले अहिले पनि भिन्नै प्रकारको प्रभाव छाडेकोले यी जुगान्तरसम्म रहन्छन् ।’ पछिल्लो समय आफू पनि त्यही बाटोमा लागेको उनी बताउँछन् ।

    लोकलयका गीतले अपनत्व महसुस गराउने र आफू जन्मेहुर्केकै समाजको यथार्थ बोल्ने हुनाले स्रोता-दर्शकको रोजाइमा परेको उनको भनाइ छ ।

    ‘लोकशैलीसँग हाम्रो संस्कृति जोडिएको हुन्छ, अस्तित्व जोडिएको छ’, उनी भन्छन्, ‘मनोरञ्जन मात्रै नभएर पुर्खाको रगतबाट बग्दै आएको कारणले पनि नयाँ पुस्ताले लोकशैली रुचाएका हुन् ।’ लोकसंगीतलाई पछिल्लो पुस्ताले पनि मनपराएकोमा उनले खुशी व्यक्त गरे ।

    'लोकगीतको प्रभाव अहिलेभन्दा पहिले धेरै'

    prakash sayami.jpg

    यता, चलचित्र निर्देशकसमेत रहेका संगीत बिश्लेषक प्रकाश सायमीको भनाइ भने फरक छ । नेपाली लोकगीतको प्रभाव अहिलेभन्दा पहिले नै बबी रहेको उनको दाबी छ ।

    ‘नेपाली चलचित्रले शुरुदेखि नै लोकशैलीका गीतलाई प्राथामिकता दिएको छ’, नेपाली नेटवर्कसँग कुरा गर्दै उनले भने, ‘नेपालमा चलचित्र बन्न सुरु भए देखिनै नेपाली चलचित्र संगीतले नै बजार बनाएको छ । गम्भीर रुपले हेर्दा अहिले नेपालमा हिन्दी गीत तथा अन्य गजल गीतले प्रभाव गरेको हुन सक्छ । तर, पहिले नेपालमा लोकगीतकोे प्रभाव एकदमै बलियो थियो ।’

    आजभन्दा ५५ वर्ष अगाडि बनेको चलचित्र ‘माइतीघर’को तीत ‘काला कुर्तैले’ त्यतीबेला जति हिट थियो अहिले पनि त्यती नै हिट रहेको संगीत विश्लेषक सायमीले उदाहरण दिए ।

    ‘परिवर्तन चलचित्रको गीत ‘बैनीको दया छ भने रोधीघर दाइ नाच्यो नभने’लगायतका गीत अहिले पनि जनजिब्रोमै झुन्डिएका छन्’, उनी भन्छन्, ‘त्यही भएर नेपाली चलचित्रले पहिलेदेखि नै लोकगीतलाई प्राथामिकता दिएको थियो भनेर मान्न सकिन्छ ।’

    नेपाली चलचित्रमा लोकगीत कहिले पनि नहराएको उनी दाबी गर्छन् । नेपाली कलाकारहरुले मौलिक गीत भनेपछि आधुनिक गीमा पनि लोकपन हाल्ने चलन पहिलेदेखि नै रहेको उनको भनाइ छ ।

    चलचित्र ‘प्रेमपिण्डको ‘गैह्री खेतको शिरै हान्यो’ पृथ्वीको ‘लौ न हजुर कसो गरम नसालु प्रिती बस्यो’लगायतका गीत अहिले सुन्दा पनि हिजो नै रेर्कड भएको जस्तो महसुस हुन्छ’, उनी भन्छन् ।

    तर, पहिले युगल आधुनिक गीत चल्ने भए पनि अहिले लोकशैलीका युगल गीत बढी चल्ने गरेको पाइएको सायमी बताउछन् ।

    चलचित्र ‘आमा’बाट शुरू भएको नेपाली चलचित्रको यात्रा प्रारम्भिक चरणमा लोकशैलीकै संगीतमा अडिएको विश्लेषण गरिन्छ । २०२३ सालमा बनेको ‘माइतीघर’को ‘काला कुर्तैले’, ३० को दशक र ४० को शुरुआती समयमा बनेको सिन्दुरको ‘लुकुलुकु लाग्यो मलाई’, ‘प्रेमपिण्ड’को ‘गैह्री खेतको शिरै हान्यो’, सीमारेखाको ‘छिटको गुन्यु’, सम्झनाको ‘उकालीमा पछिपछि’लगायतका लोकशैलीका गीत अहिले पनि जनजिब्रोमै झुण्डिएको सायमी उदाहरण दिन्छन् ।

    ०४० र ५० को दशकमा बनेको चलचित्र ‘चिनो’को ‘मोहनी लाग्ला है’, ‘सन्तान’को ‘बाटो छ भिरालो’, प्रतीक्षाको ‘दुई चुल्ठी बाटेर’, आफ्नो मान्छेको ‘चट्ट रुमाल’, माइलीको ‘बाँझो खेतमा’, दर्पण छायाँको ‘लहनाले जुरायो कि’ पनि धेरै सुनिने गीतमा पर्छन् ।

    नेपाली चलचित्र जगतमा त्यो बेला चलचित्र संगीतमा रहेका शक्ति बल्लभव, रञ्जित गजमेर, शम्भुजित बास्कोटालगायतका संगीतकाका गीतहरूको लोकप्रियता आजसम्म कायम रहेको सायमी बताउँछन् ।

    चलचित्रका लोकगीत अनिवार्य किन ?

    anmol-and-suhana-1.jpg

    पछिल्लो समयमा नेपाली चलचित्रमा एउटा लोकशैलीका गीतलाई अनिवार्य बनाउनुले गीत–संगीतलाई प्रर्वद्धन गर्ने र यसले चलचित्रलाई पनि सफलता दिने विश्लेषक सायमीको तर्क छ ।

    ‘तर, शुद्ध लोकगीत बनाउनका लागि चलचित्र सही माध्यम भने होइन’, उनी भन्छन् , ‘लोकगीतको शब्द लेख्दा गाँउ–ठाँउलाई समेट्ने तर काठमाडौँका स्टुडियोमा छायांकन गर्ने प्रवृतिले लोकगीतको मर्म रहँदैन ।’

    सायमीका अनुसार आजकल चलचित्रको कथाले नमागे पनि जबर्जस्ती लोकशैलीका गीत समेटिन थालिएको छ ।

    ‘यसले गर्दा कतिपय गीत एकातिर र दृश्य अर्कोतिर घुमिरहेको जस्तो हुन्छ । कतिपय ठाँउमा गीत र शब्दसँग दृश्यको भेटै भएको हुँदैन’, उनी भन्छन् ।

    यी हुन् जनजिब्रोमा झुण्डिएका चलचित्रका केही लोकगीत

    surke thaili.jpg

    गोर्खा पल्टनको ‘जाउँला रेलैमा सरर’ र झ्याउरे भाकाको ‘सान्नानीले झुक्यायो मलाई’

    परदेशीको ‘गयौ आमा’

    दुई रुपैयाँको ‘कुटुमा कुटु’

    वडा नम्बर ६ को ‘सुर्के थैली खै’

    छक्का पञ्जाको ‘पूर्व–पश्चिम रेल’ र ‘बोलन चम्फा’

    चंगा चैटको ‘गोजीमा दाम छैन’

    कान्छीको ‘चरी चट्ट परी’

    शत्रु गतेको ‘रुपै मोहनी’

    साङ्लोको ‘चरीले काफल टिप्यो’

    छक्का पञ्जा ३ को ‘पहिलो नम्बरमा’

    ए मेरो हजुर ३ को ‘परान परान’

    कोहल्पुर एक्सप्रेसको ‘सिओडब्लू काऊ’

    मंगलमको ‘पर्ख पर्ख मायालु’

    पटुकीको ‘पटुकी–पटुकी’

    भैरेको ‘सान्नानीले’

    ह्याप्पी डेजको ‘चेप्टे चेप्टे पेरुङ्गो’

    हामी शरणार्थीको ‘के राम्री देखियो’

    शिरफूलको ‘शिरमै मोहनी’

    लीलाको ‘ढाकाको टोपीमा’ आदि ।

     

     

     


    बिहिवार, चैत्र ५ २०७७०३:२४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij