काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित चिरायु हस्पिटलले कलाकारहरुको निःशुल्क स्वस्थ्य परीक्षण गरेको छ । लोकदोहोरी दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा चिरायुले कलाकारहरुको निशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको हो ।
प्रतिष्ठानले केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्यसेवाको कार्यक्रम राखेको थियो । नाक, कान, घाँटी, दात, आँखा, परीक्षण साथै रक्तदानलगायतका कार्यक्रममा प्रतिष्ठानलाई चिरायुले साथ दिएको हो । कार्यक्रममा ४० पोका ब्लड संकलन भएको र ११६ जनाको स्वास्थ्य परीक्षण भएको कार्यक्रमका सह–संयोजक तथा प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीले कलाकारको स्वस्थ्य परीक्षण गराउन पाउनुले लोकदोहोरी दिवस अर्थपूर्ण बनेको बताउनुभयो । उहाँले कलाकारहरुको स्वास्थ्यमा ध्यान दिँदै निःशुल्क स्वास्थ्य परीक्षण गराउने कार्यले समाजिक उत्तरदायित्वप्रति प्रतिष्ठान अग्रसर देखिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
‘स्वस्थ जीवनका लागि, स्वस्थ संगीत’ भन्ने आदर्शका साथ यो वर्षको लोकदोहोरी दिवस मनाइएको हो । दिवसका अवसरमा प्रदेश, जिल्ला र विदेश शाखाहरुलेसमेत भव्य रुपमा कार्यक्रम आयोजना गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यालयमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी कलाकार एवं स्वास्थ्यकर्मीलाई आभार प्रकट गर्दै अध्यक्ष बिजीले सहयोगको लागि चिरायु हस्पिटल राष्ट्रिय रक्त संचार केन्द्र साथै दर्शिका डेन्टल एण्ड आईकेयर सेन्टरको सहयोग अनुतलनीय रहेको बताउनुभयो ।
चिरायु हस्पिटल र प्रतिष्ठानबीच आगामी दिनमा पनि कलाकारहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारमा प्रतिष्ठानको परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने सहमतिसमेत भएको अध्यक्ष बिजीले जानकारी दिनुभयो । दिवसको अवसरमा प्रतिष्ठानका हरेक गतिविधिमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।