Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाँच हजार वर्षअघि यी हिममानवले के खाएका थिए ?

पाँच हजार वर्षअघि यी हिममानवले के खाएका थिए ?

  • सोमवार, फाल्गुण १७ २०७७

  • 964
    SHARES

  • पाँच हजार वर्षअघि यी हिममानवले के खाएका थिए ?

    एजेन्सी । ‘मास्टर शेफ’मा देखाइने जस्तो खानाको विवरण बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू होइन । यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो । ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोजन सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहेको वैज्ञानिकहरूले बताएका छन् ।

    _102509751_4b16db83-f85e-4c3b-bc58-4d42a03e7ea6.jpg

    त्रिपन्न सय वर्षअघि ओएट्जी जीवित थिए । उनको मृत्यु एउटा जमेको हिमतालमा भयो ।सन् १९९१ मा फेला नपर्दासम्म उनको शरीर हजारौँ वर्ष त्यहीँ सुरक्षित रह्यो ।

    मृत्यु हुनुभन्दा अघि उनले खाएका कुरासहित वैज्ञानिकहरूले ओएट्जीका जीवनका विभिन्न पक्ष पत्ता लगाएका छन् ।उनीहरूका अनुसार ती हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र विषालु उन्यू खाएका थिए ।

    चिल्लो कति ?

    उनको खानामा चिल्लो पदार्थ ५० प्रतिशत् थियो । त्यो मात्रा औसत आधुनिक खानामा हुने १० प्रतिशत्भन्दा बढी हो ।

    ‘हिममानवले सिकार गर्ने गरेको उचाइलाई ध्यानमा राख्ने हो भने तपाईँलाई त्यस्तै किसिमको ऊर्जा आवश्यक पर्छ’, यु¥याक रिसर्च इन्स्टिट्यूट फोर ममी स्टडीज, इटलीका डा. फ्रान्क माइक्स्नर भन्छन्, ‘त्यस्तो कठिन वातावरणमा बाँच्न आवश्यक ऊर्जा पाउने उत्तम उपाय भनेको चिल्लोपदार्थ खाएर नै हो ।’

    यसले हाम्रा पुर्खाको खानेकुराबारे के भन्छ ?

    सन् २०१८ मा ’करेन्ट बायोलोजी’ भन्ने जर्नलमा प्रकाशित सो अध्ययनले ताम्रयुगमा कस्तो खाना हुन्थ्यो भन्ने दुर्लभ झल्को दिन्छ ।

    हिममानवको आहाराको पहिला पनि विश्लेषण भएको हो तर यसरी विस्तृत रूपमा भने गरिएको थिएन । यो अनुसन्धान चाहिँ उनको पेटमा रहेका वस्तुमा आधारित छ । उनको शरीर प्राकृतिक रूपमै सुकेर एवम् खुम्चिएर कालान्तरमा परिरक्षित हुँदा पेट भने स्वाभाविक स्थानमा थिएन । त्यसैले उनको पेट भर्खरै पत्ता लाग्यो ।

    उनको पेटमा रहेको चिल्लो दुग्धपदार्थबाट नआएको बरु युरोपको एल्प्स पर्वतमालामा बस्ने जङ्गली बाख्राको एउटा प्रजाति एल्पाइन आइबेक्सको रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

    _102510044_33311834-da49-4d75-9d0f-3d0efa7ea9c9.jpg

    ‘हिममानवको खानामा कार्बोहाईड्रेट, प्रोटीन र चिल्लो पदार्थको सम्मिश्रण थियो’, माइक्स्नरले भने, ‘आश्चर्यजनक कुरा चाहिँ उनले खाएको धेरै मात्राको चिल्लोपना नै हो ।’

    स्वाद कस्तो ?

    ओएट्जी यही खानाको भरमा हिउँमा हिँड्न सके होलान् तर त्यो खासै स्वादिलो नभएको हुनसक्छ ।

    ‘बाख्राको बोसोको स्वाद कस्तो थियो भनेर कल्पना गर्न कठिन छ । यो पक्कै पनि हिजोआज हामीले खानेजति स्वादिलो हुँदैनथ्यो’, माइक्स्नरले भने, ‘त्यतिबेला नुन पनि हुन्नथ्यो भन्ने कुरा ख्याल गर्ने हो भने मासुको स्वाद, चिल्लो खानेकुरा सोच्दा मलाई लाग्छ यो मुस्किलले खान सकिन्थ्यो ।'

    उनका अनुसार ती हिममानवले प्रशोधित खानेकुरामा भर पर्नु नपर्ने भए पनि उनको खानामा नकारात्मक पक्ष पनि थियो । मृत्यु हुँदा उनका रक्तनलीहरू बन्द भएका सङ्केतहरू देखिएका छन् ।

    उनको मृत्यु लडाइँ गर्दागर्दै भएको हुनसक्छ । किनभने उनले तामाको हतियार बोकेका थिए र उनको शरीरमा कैयौँ घाउ भएका थिए ।

    के हिममानवले जडीबुटी खान्थे ?

    अनुसन्धानकर्ताहरूले ती हिममानवको पेटमा एक किसिमको उन्यू भेटेका थिए।यसलाई ती हिममानवले जडीबुडी प्रयोग गरेको सङ्केतका रूपमा बुझ्न सकिन्छ । अथवा उनले उन्यूका पातमा खानेकुरा बेरेको पनि हुनसक्छ ।

    त्यसो गर्दा दुर्घटनावश उन्यूको विषालु बीउ उनको पेटमा पुगेको हुनसक्छ । उनले मासु आलै वा सुकुटी बनाएर खाएको हुनसक्छ ।

    (बिबिसीको सहयोगमा)


    सोमवार, फाल्गुण १७ २०७७०१:४८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij