काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको जाडोयाम आज समाप्त भएसँगै प्रि–मनसुन शुरू हुन लागेको जनाएको छ ।
प्रिमनसुन याममा हरेक दिनजसो अपराह्न र साँझपख मेघगर्जन र चट्याङ्गसहित हावाहुरी र असिनापानी पर्ने सम्भावना हुने भएकाले त्यसबाट जोगिन महाशाखाले अपिल गरेको छ ।
यसैबीच आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार र बुधबार मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
आगामी तीन दिन प्रदेश १ का केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषण अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ ।