Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

किन विवादमा पर्छन् कलाकार ?

किन विवादमा पर्छन् कलाकार ?

  • नारायण जोशी
  • आइतवार, फाल्गुण १६ २०७७

  • 1.8K
    SHARES

  • किन विवादमा पर्छन् कलाकार ?

    काठमाडौं । हालै मात्र नायक पल शाहविरुद्ध कुटपिटको आरोपमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको थियो । उनीसँगै उनका सहायक कृष्णप्रसाद जोशीमाथि कुटपिटको आरोप लागेको थियो ।

    म्युजिक भिडियोको छायांकनका क्रममा धरान पुगेका पल र जोशीले आफूमाथि हातपात गरेको उजुरी चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले दिएका थिए ।

    Paul-Shah.jpg

    प्रधानका अनुसार फागुन १२ गते पल र उनका दुई सहयोगी जोशी र अर्जुन चन्दले धरानको एक होटलमा राति करिब साढे ९ बजे खाना खाने क्रममा विवाद भएको थियो ।

    नायकसहितको टोलीलाई स्वागत गर्नेक्रममा फोटो खिच्दा जोशीले अभद्र व्यवहार गर्दै फोटो खिच्न नदिएको प्रधानले आरोप लगाएका थिए ।
    यता पलका व्यवस्थापक जोशीले भने आफूहरुमाथि नै दुर्व्यवहार भएको बताएका थिए ।

    गीत छायांकनका लागि धरान पुगेका आफूहरुले अरु कुनै कार्यक्रममा सहभागी नहुने बताएपछि दुर्व्यवहार भएको जोशीले बताए ।

    ‘ए यो भाइ ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला ठड्याएर कुरा गर्न थालेपछि सामान्य विवाद भएको’, जोशीले भनेका छन् ।

    घटनापछि प्रहरीले तीनै जना एउटै क्षेत्र (चलचित्र क्षेत्र)का भएको जनाउँदै लिखित सहमति गराएर आ–आफ्नो कमजोरी स्वीकार्दै सहमति गराएको थियो ।

    नेपाली कलाकारहरु विवादमा पर्नु नौलो विषय होइन । गत वर्षको चैत्रमा कोरोना भाइरस महामारी आएपछि कलाकार केही फुर्सदिला भए । यो बीचमा धेरै कलाकार विभिन्न कारणले विवादमा परे । तीमध्ये केही कलाकारलाई हामीले समेट्ने प्रयास गरेका छौं । हाम्रो लिस्टमा करिब आधा दर्जन कलाकार छन् जो विवादित बने । अब जानौं ती कलाकार को–को छन् र उनीहरु विवादमा पर्नुको कारण के छ :

    दीपा भर्सेस राजेश

    Deepa_Shree_Niraula_Rajesh_Hamal_DINnfbC7Na.jpg

    कलाकार तथा निर्देशक दीपाश्री निरौला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा गत भदौमा तानिएकी हुन् । एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा उनले ‘राजेश हमाल महानायक हो र ?’ भन्ने जवाफ दिएकी थिइन् ।

    यसले गर्दा दीपामाथि राजेशलाई चलचित्र प्राविधिक संघले दिएको ‘महानायकको उपाधि’माथि प्रश्न गरको भन्ने आरोप लाग्यो । दीपाविरुद्ध राजेशका फ्यानहरु खनिए । उनीविरुछ सामाजिक सञ्जालमा असभ्य किसिमका गाली–गलौज भए । फ्यानहरुले अनावश्यक गाली गरेका कारण केही सयम उनी डिप्रेसनमासमेत परेको बताइन्छ ।

    त्यसपछि दीपाले आफूले राजेशको मानमर्दन गर्न नखोजेको बोली चिप्लिएर भन्दै माफी नै माग्नुपर्यो ।

    गता, हमालले पनि मध्यरातमा फेसबुक लाइभ आएरसम्बन्धित व्यक्तिलाई माफी दिन दर्शकहरुलाई आग्रह गरेपछि विवाद मिलेको थियो । उनले दीपाको नाम भने लिन चाहेनन् ।

    नक्सा विवादमा वर्षा

    barsha.jpg

    गत जेठमा नायिका वर्षा राउत विवादमा परिन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नक्सा छापेपछि नेपाल र भारतबीचको सम्बन्ध चिसिएको र त्यसले आफूलाई पनि असर गरेको भन्ने उनले दिएको अभिव्यक्ति विवादमा परेको हो ।

    ‘भूमिको विषयमा नेपालले मेरै भूमि भनेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नुपर्छ, एउटा लाइभ इन्टरभ्युमा वर्षाले भनेकी थिइन् ः ‘दुई देशका पत्रकारहरुले यसलाई झगडा बनाउँदा मैले मेरा भारतीय साथीहरुसँग कसरी फेस गर्ने र उनीहरुले मसँग कसरी फेस गर्ने ?’

    वर्षाको यस्तो अभिव्यक्तिले सामाजिक सञ्जालमा उनको चर्काे आलोचना भयो । दर्शकहरुले ‘लिपुलेक देऊ, बरु बर्षा राउत लैजाऊ’, जस्ता नारा लगाएका थिए ।

    केही दर्शकले त वर्षालाई जुत्ताको माला लगाउनुपर्छ समेत भने । त्यसपछि उनले फेसबुकमा स्टाटस लेख्दै माफी मागेकी थिइन् ।

    शुष्मा र श्वेताको समूहबीच झडप

    sushma-vs-swetaa.png

    नायिका सुष्मा कार्की र अर्की नायिक श्वेता खड्काको समूहबीच एक महिनाअघि काठमाडौंको दरबारमार्गस्थित लण्डन पब क्याफेमा झगडा भयो ।

    सुष्माले आफूमाथि श्वेताकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी हुन् । यसै विषयलाई लिएर सुष्माले प्रहरीमा पनि उजुरी दिइन् ।

    सुष्माले श्वेताले आफूलाई अपशब्द प्रयोग गरेकी पनि भनेकी थिइन् । प्रहरीले दुवै पक्षलाई छलफलको लागि बोलाएर माफी माग्न लगाएर विवाद मिलाएको थियो ।

    विमलको त्यो कडा टिप्पणी

    90077670_1088342168196487_9063248114097324032_n.jpg

    पछिल्लो समयमा मोडलिङ्ग क्षेत्रमा चर्चित विमल अधिकारी पनि केही समय अगाडि विवादमा परे । एउटा इन्टरभ्युमा उनले भनेका थिए ‘कसैको खुुट्टा भाँचियो उसले पनि गीत गाउनु पर्ने स्वर पनि हुनुनपर्ने, त्यतिकै स्टुडियोमा लिएर हुल्ने ।’

    साथै, विमलले स्टुडियो बाख्राको खोर जस्तै भएको अभिव्यक्तिसमेत दिएका थिए । गीत गाउन रहर गर्नेको स्वर राम्रो हुन आवश्यक रहेको र संगीतबारे पनि उसमा ज्ञान हुनुपर्ने उनको भनाइ थियो ।

    नौ वर्षको उमेरमै भाइरल भएका सचिन परियारलाई इंगित गर्दै उनले विमलले यस्तो बताएका थिए ।

    उनले दिएका यी अभिव्यक्तिले उनी विवादमा तानिए । उनीमाथि सामाजिक सञ्जालमा गालीका ओइरो लागे ।

    साथ,ै उनीसँगै इन्टरभ्युमा रहेकी गायिका समीक्षा अधिकारीे समेत विवादमा परेकी थिइन् । समीक्षाले सचिनका बारेमा केही नबोलेको भए पनि विमलले बोलिरहँदा बीचमा हाँस्दा मात्र पनि उनले गाली–गलौज खेप्नु परेको थियो ।

    चर्काे आलोचना भएपछि उनीहरु दुवैले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माफी मागेका थिए ।

    कलाकार राष्ट्रका गहना भनिए पनि पछिल्लो समयमा देखिएका उनीहरुका विवादित गतिविधिले समाजमा नकाररात्मक असर परिहेको चलचित्र क्षेत्रकै मानिसहरु बताउने गर्छन् ।

    ‘प्रायः कलाकारहरु बोल्दा अलि ध्यान नदिने भएर पनि विवादमा पर्ने गरेका छन्’, नाम उल्लेख नगर्ने सर्तमा एक कलाकर्मी भन्छन्, ‘सानो–तिनो झमेला पर्दा पनि प्रहरीकहाँ उजुरी दिने कलाकारहरुको स्वाभावको कारण पनि बढी विवाद देखिएको हुन सक्छ ।’

     

     


    आइतवार, फाल्गुण १६ २०७७०३:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij