काठमाडौं । नेपालमा गत वर्षको चैत ११ गते कोरोना भाइरस महामारीको कारण देखाउँदै सरकारले लकडाउन सुरु गर्यो । यसले हरेक क्षेत्रमा असर पार्यो । आममानिसमा कोरोनाको त्रास त थियो नै त्यसमाथि महामारी नियन्त्रणको बहानामा लकडाउन भएपछि धेरैजसो सर्वसाधारणको दैनिकी घरमै बित्न थाल्यो । हरेक मानिसले एक–अर्काबीच दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने भएपछि घरबाट निस्कने अवस्था आएन । यसले गर्दा फिल्म हल बन्द भए, नयाँ फिल्म सुटिङ हुने काम सबै भयो । एककिसीमले फिल्मी क्षेत्र पूरै ठप्प भयो, यसले गर्दा कलाकार बरोजगार भए ।
करिब पाँच महिना लामो कडा लकडाउन गत साउनमा धेरै खुकुलो भयो । धेरै क्षेत्र चलायमान भए । तर, फिल्मी क्षेत्र सुचारु हुन सकेन । कारण सरकारले फिल्म खोल्ने अनुमति दिएन । करिब सात–आठ महिना यत्तिकै बित्यो । केही सर्ट फिल्म सुटिङ भए बस यति ।
लकडाउन सुरु भएको नौ महिनासम्म पनि सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि गत पुष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघले देशभरका सिनेमा घर खोल्ने स्वघोषणा गर्यो । चलचित्र विकास बोर्डले पनि यसमा साथ दियो ।
यसरी सरकारले अनुमति दिनुभन्दा अगावैदेखि सिनेमा घरहरु सञ्चालनमा आए । यसको दुई दिनपछि अर्थात पुष १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुलाउने निर्णय गर्यो । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएको थियो ।
सरकारले अनुमति दियो, फिल्म हल ख्ुले तर चलचित्र क्षेत्र पुरानै अवस्थामा आउन नसकेको फिल्मकर्मीहरु बताउँछन् ।
‘लकडाउन खुलेपछि अरु सबै उद्मोग र व्यावसायिक क्षेत्र खुलेर पुरानै लयमा आए, तर, सिने क्षेत्र भने अझै चलायमान भइसकेको छैन’, निर्मता संघका चलचित्र प्रदर्शन तथा वितरण शाखाका सभापति करण श्रेष्ठ भन्छन्’, ‘पुरानो लयमा फर्किन सकिरहेको छैन ।’ यसले गर्दा लेखकदेखि निर्देशक, कलाकारदेखि प्राविधिक, निर्मातादेखि प्रदर्शक र फिल्मी क्षेत्रसँग जोडिएकाहरू निकै अप्ठयारोमा परेको उनको भनाइ छ ।
निर्माता संघको दाबीअनुसार फिल्म व्यवसायमा दुई लाख ५० हजार आश्रित छन् । यसका बाबजुद फिल्मी क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो श्रेष्ठको छ ।
लकडाउनपछि चलचित्र क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन र यस क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर माहोल मिलाइरहेको उनको दाबी छ ।
सिनेमा घर खुले पनि दर्शकहरु अझै पनि हलसम्म आउन सकरात्मक नदेखिएकाले पुरानै अवस्थामा आउन केहीसमय लाग्ने श्रेष्ठ बताउँछन् ।
कोरोना महामारीका कारण करिब १० महिनासम्म बन्द रहेको फिल्मी क्षेत्रलाई चलायमान बनाउन शक्ति श्रेष्ठ र कविता मानन्धरको डेब्यूमा फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ले महत्वपूर्ण भूमिका खेलेको वितरक श्रेष्ठको भनाइ छ । महामारीका कारण बन्द सिनेमा हल खुलेपछिको यो नै पहिलो सार्वजनिक फिल्म हो ।
यस्तै, चलचित्र क्षेत्रलाई केही हदसम्म चलायमान बनाउनका लागि फागुन २१ चलचित्र ‘गोर्खे’ पनि पर्दशनमा ल्याउन लागिएको उनले जानकारी दिए ।
‘यस्तो कठिन अवस्थामा पर्दशनमा आएका फिल्महरु नचले पनि पदर्शन गर्ने आँट गर्नु नै ठूलो कुरा हो’, केही आशावादी उनी भन्छन्, ‘यस्तो आँटले पक्कै नेपाली चलचित्र क्षेत्रको हित हुनेछ भन्ने मलाई लाग्छ ।’
प्राविधिकहरूको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको पनि वितरक श्रेष्ठसँग सहमति छ । सरकारले चलचित्र क्षेत्रलाई प्रथामिकतामा नराकै कारण अहिलेको अवस्था आएको उनको पनि गुनासो छ ।
‘अहिले कोरोना भाइरसको खोप पनि आइसकेको छ । परिस्थिति पनि केही सहज भएको छ । अब भने सरकारले फिल्मी क्षेत्रलाई पनि प्राथमिकतामा राख्ला कि भन्ने मेलै आशा लिएको छु’, उनी भन्छन्’, ‘यद्यपि, सिनेमा टुरिजम्लाई जब सम्म सरकारले प्रवद्धन गर्न सक्दैन तबसम्म देशको आर्थिक उन्नति हुन सक्तैन ।’
अध्यक्ष लामाका अनुसार फिल्म क्षेत्रमा कार्यरत १५ सयभन्दा बढी प्राविधिकले लकडाउनको बेला रोजीरोटी पूर्ण रूपमा गुमाएका थिए । अहिले ३० प्रतिशत् जति मात्र काममा फर्किएका र उनीहरुलाई पनि पुरानै अवस्था जस्तो सहज भने नभएको उनी बताउँछन् ।
‘लकडाउनले रोकिएका र केही नयाँ गरी अहिले एक दर्जन जति फिल्म सुटिंगको लहरमा छन् र केही प्राविधिक पनि काममा लागिसकेको अवस्था छ’, उनी थप्छन् ।
लकडाउनपछि कलाकारहरुको जीवनशैली नै पहिलेको तुलनामा बदलिएको नायिका केकी अधिकारी बताउँछिन् । फिल्मी क्षेत्रमै आश्रित भएर धेरै कलाकारको जिवीकोपार्जन हुने भएकाले उनीहरुलाई लकडाउनले निकै गाह्रो बताएको उनको भनाइ छ ।
‘लकडाउनले गर्दा ‘परदेशी २’को सुटिङ बीचैमा रोकियो त्यसयता अहिलेसम्म कुनै पनि फिल्म सुटिङ भएको छैन’, लकडाउनको मारमा आफू पनि परेको गुनासो गर्दै उनी भन्छिन् ।
केकीका अनुसार चाँडै नै उनी ‘बोक्सीको घर’ फिल्म सुटिङको तयारीमा छिन् । यसले गर्दा उनलाई केही आशावादी भने बनाएको छ । फिल्मबाट टाढा नभपछि यसबीचमा उनले केही म्युजिक भिडियो पनि खेलिन् ।
‘मलाई दर्शकहरुको नजिक जाने बानी परिहेको रहेछ । यसले गर्दा, लकडाउन खुकुलो भए यता म्युजिक भिडियोमा अलि बढी देखिएँ’, केकी भन्छिन् ।
लकडाउनका कारण रोकिएका अब केकीका ‘परदेशी २’, ‘झिम्रे गाँऊ’ र ‘सरकारी जागिर’ लगत्तै पर्दशनमा आउँदैछन् । तर, सिने क्षेत्र आंशिक रुपमा खुलेको भए पनि पहिलेको अवस्थामा नआइसकेको उनी मान्छिन् ।
‘कागजी रुपमा सिने क्षेत्र खुलेको छ तर व्यवहारिक रुपमा बन्दकै जस्तो अवस्थामा छ’, उनी थप्छिन्, ‘यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन राम्रा–राम्रा चलचित्रहरु पदर्शनमा आउनुपर्छ र चलचित्रकर्मीहरुले पनि रिस्क लिनुपर्छ ।’