काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किने भएका छन् । ओलीले गत पुस ५ मा संसद् विघटन गरे केही सयमपछि प्रचण्ड–माधव समूहमा लागेका उनीहरु पुनः पुरानै समूहमा फर्किन लागेका हुन् ।
प्रचण्ड–माधव समूहमा आफूहरुको सही व्यवस्थापन हुने नदेखिएपछि उनीहरु ओली समूहमा फर्किन लागेको स्रोतको दाबी छ ।
यता, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि यसको पुष्टि गरेका छन् ।
‘पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र प्रदेशसभा –१ की सदस्य उषाकला राई प्रचण्डलाई नेता मानेर अघि बढ्न नसकिने सही निष्कर्षका साथ हिजोदेखि मूलधारमा समाहित हुनुभएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘खासमा नियत नबाङ्गिएकाहरूले सही कुरा बुझ्नु अनिवार्य छ । स्वागत छ, कमरेडहरू !’
तामाङ र राई श्रीमान् श्रीमती हुन् । यसअघि ओली सरकारमै कानुनमन्त्री रहेका तामाङको एउटा अभिव्यक्ति विवादमा परेकाले उनले पदबाट राजीनामा दिएका थिए ।
सिन्धुपाल्चोक २ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । नेकपा दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङदम्पति ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड–माधव समूहमा फर्किएका थिए ।
राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि नै केन्द्रीय सदस्य बनाइसकेको छ ।
