काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोर दिनेश भट्टले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनाको १३ औँ दिनमा पक्राउ परेका ती युवक भागरथीकै सहपाठी र छिमेकी हुन् । उनी भागरथीले अध्ययन गर्ने विद्यालयमै कक्षा ११ मा पढ्ने गरेका थिए ।
पक्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले बलात्कार गरेको घटनाको बदला लिन’ उनको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।
पक्राउ परेका युवकको भनाइअनुसार एक वर्षअघि भागरथीका बुवाले उनको नजिकको नाता पर्ने एक महिलामाथि बलात्कार गरेका थिए । तर त्यो घटना गाउँमै मिलाइएको थियो । ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
भागरथीका बुवाको निधन भइसकेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटना भएको दिन ती किशोर दिउँसो साढे १२ बजे विद्यालयबाट निस्केर जंगलमा एक्लै भागरथीलाई ढुकेर बसेका थिए । दिउँसो २ बजेपछि भागरथी त्यही बाटो भएर विद्यालयबाट घर फर्किरहेकी थिइन् ।
घर फर्किरहेकी भागरथीलाई ती किशोरले पछ्याएको र सडकबाट धकेलेको बयानमा उल्लेख छ । भागरथीको मोबाइल बाटोमै खसेको थियो ।
सडकबाट धकेलेपछि खोल्सोमा झरेकी भागरथीको घाँटी थिचेर बलात्कारको प्रयास गरेको बयानमा उल्लेख गरिएको भएपनि बलात्कार भने नगरेको प्रहरीले जनाएको छ ।
घटनापछि भागरथीलाई न्याय माग्दै भएको प्रदर्शनमा पनि ती किशोर हरेक दिन सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।
तर भागरथीको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । पक्राउ परेका किशोरलाई आजै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
यसैबीच, भागरथीको हत्या आरोपमा पक्राउ परेका दिनेशलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।
थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । भट्टलाई प्रहरीले आज २ बजे सार्वजनिक गर्दै छ । नातामा भाइ पर्ने दिनेशले आफू एक्लैले हत्या गरेको प्रहरीसमक्ष बयानका क्रममा बताएका छन् ।
२१ माघमा विद्यालयबाट घर फर्कर्दै गरेकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै उनको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।