काठमाडौं । नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गरिहेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गरिहेका छन् ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नुहुनेछ ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, गगन थापा चितवन, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गरिहेका छन् ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।

आजको प्रदर्शनलाई घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गर्नुभएको छ ।

तस्बिरहरु रुपन्देही, ललितपुर, चितवन र ओखलढुंगाको कार्यक्रमका हुन् ।



