काठमाडौं । सरकारले अब कोरोना भाइरसविरुद्धको खोप लगाउने प्राथमिकतामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीलाई राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि ८ गतेसम्म निर्धारण गरेको हो ।
मन्त्रालयमा हिजो बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले फागुन २ बाट सर्वसाधारणलाई सेवा प्रवाह गर्न जिल्लास्थित सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको छ ।
पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविका, जिल्लास्थित पत्रकारलाई पनि त्यहि बेला खोप लगाइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले बताउनुभयो ।
पत्रकार र कूटनीतिक कर्मचारीका लागि सोमबारदेखि सुरु भएको खोप लगाउने कार्यक्रम भोलीसम्म निर्धारण गरिएको छ । उनीहरुका लागि कति खोप खपत हुन्छ भन्ने यकिन नभएको मन्त्रालयले जनाएको छ ।
फागुन ३ गतेबाट सरु हुने खोप कार्यक्रममा ३ लाखलाई खोप लगाउने सरकारको योजना छ ।
यसैबिच, सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अबदेखि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण शुल्क १ हजार मात्र लाग्ने भएको छ । यसअघि पीसीआर परीक्षण शुल्क २ हजार लिने गरिएको थियो ।