काठमाडौं । प्रचण्ड–माधव समूहको नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा गर्दैछ । विरोधसभामा दुई लाख मानिस उतार्ने दाबी यो समूहले गरिहेको छ । आमसभामा सहभागिहरुले उपत्यकाका विभिन्न ठाउँमा आजको जुलुस निकालिरहेका छन् । यसले गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सनसमेत गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार उपत्यकाको जामलाई मध्यनजर गरेर ठूला सवारी साधनलाई रिङरोड भित्र आउन दिइएको छैन । ‘साना र निजी सवारी साधनलाई मात्र भित्र छिर्न दिएका छौं’, उहाँले भन्नुभयो ।
चक्रपथबाट भित्र छिरेर कार्यालय आउने सवारी साधनाहरूलाई ११ बजेसम्म आइपुग्न अनुरोध आफूहरुले अनुरोध गरेको महाशाखा प्रमुख अधिकारीले बताउनुभयो ।
अहिले बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर, जडिबुटी, गौशालालगायतका क्षेत्रमा आन्दोलनकारीहरूको बाक्लो आवतजावत भएकाले यी क्षेत्रको सवारी आवागमन ठप्प जस्तै भएको छ ।
लगातारको आन्दोलन र जुलुसका कारण उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव समूह आन्दोलित छ । गत माघ २२ गते पनि यो समूहले आमहड्ताल गरेको थियो । आमहड्तालले जनजीवन प्रभावित भएको थियो ।
त्यसको भोलिपल्ट ओली समूहले पनि आमसभा गरेको थियो । सोवेला पनि उपत्यकाको ट्राफिक जीवन अस्तव्यस्त भएको थियो ।