काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बजेट अधिवेशन भएको ५ महिनापछि आज हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
आजको बैठकमा तीनवटा विधेयक पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसैबीच, नेकपाको ओली समूहले मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । तर यो सफल नहुने निश्चित छ ।
सुदूरपश्चिम प्रदेशमा ओली समूहका सांसदहरु अल्पमतमा रहेकाले उनीहरुको प्रयास असफल हुने देखिएको हो ।
प्रदेश सरकारबाट बाहिरिसकेको ओली समूहका सांसदहरुले अविश्वासको प्रस्तावका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ खोजिरहेको बुझिएको छ ।
अहिले सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सांसद्मध्ये नेकपाका मात्रै ३९ जना रहेका छन् । उनीहरुमध्ये ७ जनामात्रै ओली समूहका छन् । यस्तै, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद् रहेका छन् ।