काठमाडौं । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार नरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भन्नुभयो,“पहिले थियो राजालाई मात्रै कानुन नलाग्ने, राजा संविधानमाथी हुने तर अहिले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार संविधानमा छैन् ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई अन्तरनिहीत अधिकार भन्नु गलत भएको नेता कर्णको दावी छ । उहाँले संसद् विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधिन रहेकाले अदालतको फैसलाको आफ्नो पार्टीले पनि सम्मान गर्ने बताउनुभएको छ ।
अदालत न्याय र कानुनको पक्षमा उभिनु पर्ने भन्दै नेता कर्णले प्रधानमन्त्रीको कदम सदर हुने आफूहरुले कल्पना सम्म नगरेको उल्लेख गर्नुभएको छ ।
संविधानबोजिम निर्वाचन ५ बर्षमा मात्रै हुने बताउँदै उहाँले निर्वाचन गर्न प्रधानमन्त्रीले संसद् विघटन नगरेको आरोप पनि लगाउनुभएको छ ।
संवैधानिक नियुक्ति संविधानको धारा अनुसार संसदीय सुनुवाई समितिले गर्ने हुँदा अहिले गरिएका नियुक्ति असंवैधानिक भएको उहाँको भनाइ छ ।