Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव

बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव

७ अत्याधुनिक प्रयोगशालामध्ये ५ कोभिड -१९ परीक्षण प्रयोगमा
  • शुक्रवार, माघ २३ २०७७

  • 574
    SHARES

  • बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव

    काठमाडौं । बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ।

    विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला चैतदेखि स्वास्थ्य सेवा विभागले प्रयोग गर्दै आएको हो। पशु सेवा विभागसँग त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र चितवनको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला मात्रै छन्। यीमध्ये पनि बर्डफ्लुसम्बन्धी परीक्षण त्रिपुरेश्वरस्थित प्रयोगशालामा मात्रै हुन्छ।

    ‘तर, अहिलेको अवस्थामा एक मात्र प्रयोगशालाबाट बर्डफ्लुसहित पशुपक्षीजन्यसम्बन्धी सम्पूर्ण रोगबारे अन्वेषण र परीक्षण गर्न सम्भव छैन’, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले भन्नुभयो, ‘पहिले सबै प्रयोगशालाको सहयोगमा काम गर्दा पनि असहज अवस्था थियो। अहिले जम्मा एक प्रयोगशालाबाट मात्रै अन्वेषण र परीक्षण गर्न सम्भव छैन।’

    डा.ढकालका अनुसार हालै बर्डफ्लु संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन, अन्वेषण तथा रोकथाम गर्न यस्तो प्रयोगशालाको चर्को अभाव व्यहोर्नुपर्‍यो। ‘पर्याप्त प्रयोगशाला अभावमा अहिले बर्डफ्लुको सानो संक्रमण फैलिँदा नियन्त्रणमा लिन हामीलाई निकै गाह्रो भयो’, उहाँले भन्नुयो, ‘ठूलै संक्रमण फैलिएको अवस्थामा प्रयोगशाला अभावमा भयानक अवस्था सिर्जना हुन सक्छ।’

    पशु सेवा विभागमातहतका ७ मध्ये ५ वटा प्रयोगशाला कोरोना भाइरस परीक्षणमा प्रयोग

    केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा मात्रै बर्डफ्लु र पशुपक्षीजन्य रोगको अन्वेषण र परीक्षण गर्दा खर्चिलो र समय बढी लाग्ने गरेको उनको भनाइ छ। बाहिर संकलन गरिएका नमुना जहाज र सडकमार्गबाट काठमाडौं ल्याउनुपर्ने बाध्यता छ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले काठमाडौंको तारकेश्वर नगरपालिकामा हालै बर्डफ्लु संक्रमण भेटिएको जानकारी दिनुभयो ।

    त्यहाँ केही टिम परिचालन गरी नमुना संकलन गरेर केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्ने काम भइरहेको प्रवक्ता डा.घिमिरेको भनाइ छ।

    ‘तर, एकै पटक धेरै स्थानमा बर्डफ्लु आउटब्रेक भएको अवस्थामा केन्द्रीय प्रयोगशाला र चितवनको प्रयोगशालाको सहयोगमा नमुना परीक्षण गर्न सक्दैनौं। धेरै स्थानमा आउटब्रेक हुँदा दर्जनौं टिम परिचालन गर्नुपर्छ’, प्रवक्ता डा.घिमिरेले भन्नुभयो, ‘यस्तो टिमले संकलन गरी ल्याउने सयौं नमुना ती दुई प्रयोगशालाको सहयोगमा तत्कालै परीक्षण गरी तत्कालै रोकथामका उपाय कार्यान्वयनमा ल्याउन असम्भव हुन्छ।’

    बर्डफ्लु संक्रमणको जोखिमलाई ध्यानमा राखी मन्त्रालयले कोभिड १९ को भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएका पाँचवटै प्रयोगशाला क्रमिक रूपमा फिर्ता गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ।

    कोभिड १९ को जोखिम कायमै रहेको र अर्कोतर्फ बर्डफ्लु पनि फैलिन सक्ने जोखिम पनि त्यत्तिकै रहेकाले विस्तारै छुट्टै प्रयोगशालाको संरचना तयार गरी पशुपक्षीसम्बन्धी प्रयोगशाला फिर्ता गर्ने आश्वासन दिएको प्रवक्ता घिमिरेले बताउनुभयो।

    काठमाडौंको तारकेश्वर ७ फुटुङमा एक साताअघि बर्डफ्लु पुष्टि भएको थियो। उक्त क्षेत्र नियन्त्रणमा लिएर पशु सेवा विभागको टोलीले १८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बट्टाइ, ३२ वटा कुखुरा र २५ वटा टर्की नष्ट गरेको थियो।

    उक्त क्षेत्रबाट ५ सय ४२ वटा अन्डा र ७५ केजी दाना पनि नष्ट गरिएको थियो। विभागले नष्ट गरेको पशुपक्षीजन्य वस्तुबापत किसानलाई करिब २३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिएको छ।

    यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।


    शुक्रवार, माघ २३ २०७७०६:३१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij