Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

यी हुन् लकडाउनयता धेरै हेरिएका ११ नेपाली फिल्म !

यी हुन् लकडाउनयता धेरै हेरिएका ११ नेपाली फिल्म !

  • नारायण जोशी
  • आइतवार, माघ १८ २०७७

  • 1.7K
    SHARES

  • यी हुन् लकडाउनयता धेरै हेरिएका ११ नेपाली फिल्म !

    कोरोना भाइरस महामारीको कारण देखाउँदै गत चैत्र ११ मा सरकारले देशभर लकडाउन घोषणा गरेयता दर्जनभन्दा बढी नेपाली फिल्म युट्युबमा हालिएका छन् । जसमा केही फिल्म निकै हिट भएका छन भने केही फिल्मले साेंचे जस्तो भ्यअर्स पाउन सकेका छैनन् । लकडाउनको समय यता युट्युबमा हालिएका फिल्मध्ये सबैभन्दा बढी ‘ए मेरो हजुर –३’ले दर्शकको माया पाएको छ । नोभेम्बर ५ अर्थात कात्तिक २० गते युटुबमा हालिएको उक्त फिल्म २४ घण्टा नपुग्दै ट्रेन्डिङ एकमा पर्न सफल भएको थियो । यो समाचार तयार पार्दासम्म लकडाउनको बेला युट्युबमा हालिएकामध्ये सबैभन्दा बढी १ करोड ३५ लाख ५३ हजारभन्दा बढीले यो फिल्मलाई हेरेका छन् ।

    त्यस्तै, यसपछि सबैभन्दा धेरै दर्शकको माया पाएको फिल्ममा ‘छक्का पन्जा–३’ रहेको छ । २४ घन्टा पनि नबित्दै युट्युबको ट्रेन्डिङमा आउनसमेत सफल भएको यो फिल्ममा समाचार तयार पार्दासम्म १ करोड २९ लाख १४ हजारभन्दा बढी हेरेका छन् ।

    film.jpg

    त्यसैगरी, ‘चंगा चेट’ फिल्मले पनि दर्शकको राम्रो साथ पाएको छ । गत जुुलाई १४ मा युुटुवमा हालिएको फिल्म चंगा चेटलाई यो समाचार तयार पार्दा सम्म ६९ लाख ९ हजारभन्दा बढीले हेरेका छन्

    यस्तै गत अप्रिल १३ मा आएको फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पर्न सफल भएको थियो । यो समाचार तयार पार्दासम्म यस फिल्मलाई ६४ लाख ७८ हजारभन्दा बढीले युुटु्युबमा हेरेका छन् । पासवर्डले पनि दर्शकको राम्रो साथ पाएको छ ।

    लकडाउनको समयमा धेरैले घरमै बसी ईन्टरनेटको माध्यमबाट युट्युबमा फिल्म हेर्ने गरेको भए पनि केहीले मात्र राम्रो भ्युज पाएका छन् ।

    बढी हेरिएका फिल्म :

    ‘ए मेरो हजुर –३’

    a mero hajur poster.jpg

    नोभेम्बर ५ मा युट्युबमा हालिएको ‘ए मेरो हजुर –३’ ले दर्शकको निकै माया पाएको थियो । युट्युबमा हालिएको २४ घण्टा नपुग्दै यो फिल्म ट्रेन्डिङको नं. एकमा पर्न सफल भएको थियो । यो फिल्म बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा अपलोड गरिएको थियो ।

    झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ७४ हजारभन्दा बढीले हेरेका थिए । दीपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रियासमेत बटुलेको पाइएको छ ।

    फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् । युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म युट्युबमा १ करोड ३५ लाख ८२ हजार ८ सयभन्दा बढीले यो फिल्म हेरेका छन् भने २१ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । ३ लाख ४५ हजारले लाइक गरेको उक्त फिल्मलाई २८ हजारभन्दा बढीले डिसलाइकसमेत गरेका छन् ।

    सुनीलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रवीन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारको अभिनय छ ।

    ‘छक्का पन्जा–३’

    Chakka-Panja-3.jpg

    डिसेम्बर २३ मा सार्वजनिक भएको सुपरहिट नेपाली फिल्म ‘छक्का पन्जा–३’ २४ घन्टा पनि नबित्दै युट्युब ट्रेन्डिङमा आउन सफल भएको थियो ।

    दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

    आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेका हुन् । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस फिल्ममा यो समाचार तयार पार्दासम्म १ करोड २९ लाख १४ हजारभन्दा बढीले हेरेका छन् । यस्तै, ९ हजार ७ सयभन्दा बढीले कमेन्ट गरेका छन् भने १ लाख ८७ हजारले लाइक र १९ हजारले डिसलाइकसमेत गरेका छन् ।

    ‘चंगा चेट’

    changa_chet_.jpg
    गत जुुलाई १४ मा युुटुवमा हालिएको फिल्म चंगा चेटले दर्शकको राम्रो साथ पाएको छ । यो फिल्ममा पशुपतिप्रसाद, धनपति जस्ता उत्कृष्ट र फरक विधाका फिल्म निर्देशन गरेका दीपेन्द्र के. खनालको निर्देशन रहेको छ ।

    बेरोजगार युवा र समसामयिक विषयवस्तुलाई उठान गरिएको यस फिल्ममा मल्टिस्टार रहेको छन् । चंगा चेटका निर्माता माधव वाग्ले हुन् । यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आरएल राणा, संदीप क्षेत्री, सरिता गिरी आदि कलाकार रहेका छन् । ओएसआर डिजिटलमार्फत युट्युब हालिएको यस फिल्मलाई यो समाचार तयार पार्दासम्म ६९ लाख ९ हजारभन्दा बढीले हेरेका छन् भने ६५ हजारभन्दा धेरैले लाइक र ५ हजारभन्दा बढीले डिसलाइक गरेका छन् ।

    ‘पासवर्ड’

    password-nepali-movie-.jpg

    अभिनेता अनुपविक्रम शाहीको फिल्म ‘पासवडर्’ गत अप्रिल १३ मा युट्युबमा सार्वजनिक भएको थियो । युट्युबमा रिलिज भएको केही दिनमै यो फिल्म ट्रेन्डिङमा पर्न सफल भएको थियो । सम्राट बस्नेतको निर्देशन रहेको फिल्म पासवर्डमा बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्ससमेत रहेको छ ।

    फिल्ममा अमित बस्नेत र हिरल जोशीको लगानी रहेको छ । यस फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । यो समाचार तयार पर्दासम्म यस फिल्मलाई ६४ लाख ७३ हजारभन्दा बढीले युुट्युबमा हेरेका छन् भने ६६ हजारभन्दा बढीले लाइक र ९ हजारभन्दा बढीले डिसलाइक गरेका छन् ।

    ‘क्याप्टेन’

    cap.jpg

    ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गत डिसेम्बर ४ मा क्याप्टेन फिल्म रिलिज भएको थियो । सार्वजनिक प्रदर्शनमा राम्रो दर्शक पाएको फिल्मले युट्युवमा पनि राम्रो दर्शक पाएको छ ।

    यो फिल्म सन् २०१९ मार्च १ गतेदेखि देशभर प्रदर्शन भएको थियो । यो फिल्म नेपाली फुटबल खेल तथा खेलाडीहरूको कथामा आधारित छ ।
    यस फिल्ममा अनमोल केसी इशान खड्काको भूमिकामा, उपासना सिंह ठकुरी श्रेयाको भुमिकामा, प्रियंका एमबी चारुको भूमिकामा, सुनील थापा प्रशिक्षकको भूमिकामा, प्रशान्त ताम्राकार इमामविक्रम थापाको भूमिका, सरोज खनाल मदन खड्का (इशानका पिता), भुवन केसी र निरुता सिंह अतिथि भूमिकामा छन् ।

    यस फिल्मका ‘रहर छ सँगै’, ‘कर्ली–कर्ली कपाल’, ‘सक्दिन कि बाँच्न’जस्ता गीतलाई स्रोता–दर्शकले मनपराएका छन् । । यो समाचार तयार पार्दासम्म फिल्मलाई ५८ लाख २२ हजारभन्दा बढीले युट्युबमा हेरेका छन् भने १ लाख ८ हजारभन्दा बढीले लाइक र ११ हजारभन्दा बढीले डिसलाइकसमेत गरेका छन् ।

    ‘साङ्लो’

    sanglo.jpg

    नेपाली सिनेमामा एक्सन सुपरस्टार हुँदै भोजपुरी सिनेमामा समेत सोही प्रसिद्धि बटुलेका विराज भट्टको डेब्यू निर्देशनमा डिसेम्बर २४ मा ’साङ्लो फिल्म रिलिज भएको थियो । त्यस्तै पूर्वमिस नेपाल निकिता चण्डकले पनि यही फिल्मबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गरेकी हुन् । मिर्गौला तस्करीको कथा बोकेको फिल्म एक्सनले भरिपूर्ण छ ।

    फिल्ममा प्रकाश साह र कामेश्वर चौरासिया नेगेटिभ भूमिकामा छन् । यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

    मानकृष्ण महर्जनको छायाङ्कन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आरपी पन्त, लय सङ्ग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

    ‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि यो फिल्म निकै चर्चामा थियो । फिल्म ‘साङ्लो’ बुढासुब्बा डिजिटल युटुब च्यानलमा उपलब्ध छ । यो समाचार तयार पार्दासम्म युट्युबमा ५२ लाख २८ हजारभन्दा बढीले यो फिल्म हेरेका छन् । त्यस्तै, ९ हजार ६ सयभन्दा बढीले कमेन्ट गरेका छन् । साथै, १ लाख २४ हजारले लाइक गरेका छन् भने ७ हजारभन्दा बढीले डिसलाइक गरेका छन् ।

    ‘जात्रै जात्रा’

    jatrai jatra.jpg

    गत डिसेम्बर १४ मा नेपाली फिल्म ‘जात्रै जात्रा’ युट्युबमा आएको थियो । सार्वजनिक प्रदर्शनमा राम्रो दर्शक पाएको फिल्मले युट्युबमा पनि राम्रो दर्शक पाइरहेको छ ।

    यो समाचार तयार पार्दासम्म यो फिल्मले ४७ लाखभन्दा बढी भ्युज पाएको छ । ६४ हजारभन्दा बढी लाइक र ३ हजारभन्दा बढी डिसलाइक पाएको फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

    समीक्षकका हिसाबले राम्रो मानिएको फिल्ममा विपिन कार्की, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, राजाराम पौडेल, सोहित मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता तथा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । शिवराम श्रेष्ठको छायाँकन, मित्र डि. गुरुङले सम्पादन रहेको फिल्म षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

    ‘प्रसाद’

    vf1mf-6T8FT53803W-Full-Image_GalleryBackground-en-US-1578028045280._RI_.jpg
    १९ नोभेम्बरमा युट्युबमा रिलिज भएको फिल्म ‘प्रसाद’ आएको केही दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको थियो ।
    दिनेश राउतले निर्देशन गरेको फिल्ममा जातीय छुवाछूत र निःसन्तान दम्पतिको कथा छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका रहेको फिल्ममा विपिन र नम्रता श्रीमान्–श्रीमतीको भूमिकामा छन् भने निश्चलले नेगेटिभ भूमिका निर्वाह गरेका छन् ।
    व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई युट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । यो समाचार तयार पर्दासम्म यस फिल्मलाई ४५ लाख ३४ हजारभन्दा बढी दर्शकले हेरेका छन् ।

    ‘सेल्फी किंग’

    selfie-king.jpg
    अक्टुबर २ मा फिल्म ‘सेल्फी किंग’ रिलिज भएको थियो । विशाल सापकोटाको निर्देशनमा बनेको यस चलचित्रका विपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् । भर्सटाइल अभिनेताको रुपमा चिनिएका विपिन यस चलचित्रमा भने हास्यकलाकार बनेका छन् । दर्शकले चलचित्रको विषयबस्तु र कलाकारको कामलाई रुचाएका छन् ।

    विशाल सापकोटाको निर्देशन रहेको फिल्ममा विपिन, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ भने केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी छन् । फिल्ममा विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहेको छ । फिल्मका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

    यो समाचार तयार पर्दासम्म यस फिल्मलाई युट्युबमा ३८ लाख २२ हजारभन्दा बढी दर्शकले हेरेका छन् भने ५९ हजारभन्दा बढीले लाइक र ४ हजारभन्दा बढीले डिसलाइक गरेका छन् ।

    ‘छ माया छपक्कै’

    thumb.jpg

    हिट फिल्म ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समूहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्निकुमारी मिडियाको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । १२ दिन अगाडि रिलिज भएको उतm चलचित्र अहिले युट्युबको ट्रेन्डिङ १ मा छ ।

    दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जितु नेपाललगायत कलाकारको अभिनय रहेको छ । यो समाचार तयार पर्दासम्म ४९ लाख ८५ हजारभन्दा बढीले युट्युबमा हेरेका छन् । यस्तै, ३ हजारभन्दा बढीले कमेन्ट गरेका छन् भने ७९ हजारभन्दा बढीले लाइक र ६ हजारभन्दा बढीले डिसलाइक गरेका छन् ।

    ‘आमा’

    aama.jpg

    दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘आमा’ बूढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

    शुक्रबार युट्यूव हालिएको उतm फिल्म २४ घण्टा नपुग्दै अहिले युट्युको ट्रेन्डिङ ७ मा परेको फिल्म अहिले ट्रेन्डिङ ३ मा छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छिन् ।

    अस्पतालको शैय्यामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई फिल्ममा देखाइएको छ ।

    अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले दर्शकलाई भावुक बनाउछ ।

    दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्मका लेखन तथा छायाँकारसमेत उनै हुन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् भने फिल्ममा सुरक्षा र मिथिलाका अलावा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहाडीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

    फिल्मको गीत भूपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको छायांकन काठमाडाँै र रामेछापमा गरिएको छ । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । फिल्ममा सुभाष भुसालको संगीत रहेको छ । यो समाचार तयार पर्दासम्म १२ लाखभन्दा बढीले यो फिल्म हेरेका छन् । त्यस्तै, ३ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । यस्त,ै ४३ हजारभन्दा बढीले लाइक र १ हजारभन्दा बढीले डिसलाइकसमेत गरेका छन् ।

     

     

     

     

     


    आइतवार, माघ १८ २०७७०३:२७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij