काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका छन् ।
गत महिना धनगढीमा आयोजित सभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली गुटको कार्यक्रममा आएको भन्दै मुख्यमन्त्री भट्ट स्वागत गर्न गएका थिएनन् ।
तर, प्रचण्ड र नेपाललगायत नेताहरुको स्वागतका लागि उनी आज धनगढी विमानस्थल पुगेका थिए । उनका साथमा मन्त्रीहरुसमेत थिए ।
मुख्यमन्त्री भट्ट प्रचण्डनिकट मानिन्छन् । त्यसैले, आफ्ना गुटका नेता आउँदा उनी स्वागत गर्न विमानस्थल पुगेका हुन् ।
प्रदेशका मुख्यमन्त्री संघीय सरकारका प्रमुखको स्वागतका लागि नपुगेको तर आफ्ना गुटका नेताहरुको स्वागतका लागि विमानस्थल गएको भन्दै उनको आलोचनासमेत भइरहेको छ ।
नेकपाको प्रचण्ड–माधव समूहले आज धनगढीमा विरोध सभा आयोजना गरेको छ ।
यसैबीच, धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू भएको छ । धनगढी चौराहा र क्याम्पसरोडबाट नाराबाजीसहित जुलुस निकालिएको छ । जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गरिरहेका छन् ।
उक्त समूहका नेता दीर्घ जोशीले बृहत् ¥याली सुरू भएको जानकारी दिनुभयो । उहाँले केहीबेरमा खुलामञ्चमा विरोध सभा हुने बताउनुभयो ।
सभामा वक्ताका रूपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष नेपाल र प्रदेश इन्चार्ज भीम रावल छन् । उनीहरूले केहीबेरमा सभालाई सम्बोधन गर्नेछन् ।