काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको छ । उनीहरुका नेता वाकयुद्धमा जुटेका छन् भने कार्यकर्ता शक्ति प्रदर्शनमा ।
यसैबीच, आज प्रधानमन्त्री ओली चितवन जाने कार्यक्रम छ । ओली आउने भएपछि भरतपुरका मुख्य सडकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चौक, केन्द्रिय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरी ठूलो संख्यामा खटिएका छन् ।
भरतपुर आसपासका केही सरकारी कार्यालयमा नेपाली सेनासमेत परिचालन गरिएको छ ।
यता, ओलीको विरोधमा प्रचण्ड–माधव समूहले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेका छन् । प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले कालो पर्चामा ‘असंवैधानिक कदम खारेज गर’, प्रतिगामीहरु होसियारलगायतका नारा लेखेर सडकमा छरेका छन् । यसैकारण व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन भएको बताइएको छ ।
यसैबीच, महानगरपालिकाको पहलमा सुरु भएको सिटीहललगायत ओलीले शिलान्यास गर्न खोजिएको भन्दै महानगर र नेकपा चितवनले विरोध गरेको छ । महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको भनाइ छ । रेनु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
चितवन प्रचण्डको गृहजिल्ला हो । त्यसैले, चितवनमा तुलनात्मक रुपमा प्रचण्ड–माधव समूहको पकड रहेको बताइन्छ । चितवन गृहमन्त्री रामबहादुर थापा बादलको गृहजिल्ला पनि हो । तर, त्यहाँ प्रचण्ड–माधव समूहको बाहुल्यता रहेकाले केही समयअघि उनलाई ‘लाल गद्दार’ भन्दै विरोध गरिएको थियो । नेकपा दुई खेमामा विभाजन हुँदा बादल अन्तिम समयमा ओली समूहमा लागेका थिए ।
प्रधानमन्त्री ओलीका साथमा गृहमन्त्री बादलसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, भौतिक योजना पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन जाने बताइएको छ ।
भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्न भनेर प्रधानमन्त्री ओली भरतपुर जान लागेका हुन् ।
सुरक्षाकर्मीले शिलान्यासस्थल र सभास्थल वरपर सुरक्षा व्यवस्था कडा पारेका छन् । स्थानीयका अनुसार ती क्षेत्रका पसल र व्यवसायहरु बन्द गर्न उनीहरुले दबाब दिएका छन् । त्यतिमात्र नभएर ती क्षेत्रका वरपरका छत र वरण्डामा पनि ननिस्कन प्रहरीले दबाब दिएको स्थानियको भनाइ छ । काम विशेषले हिडेका मानिसहरुलाई समेत प्रहरीले खानतलासी लिन थालेको छ ।
निर्माणाधिन सडक र सिटीहल शिलान्यास गर्ने कार्यक्रमसँगै प्रधानमन्त्री ओलीले त्यहाँ सम्बोधन समेत गर्नेछन् ।