काठमाडौं । काठमाडौं उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न अनुमति पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ निजी प्रयोगशालालाई कोरोनाको भाइरसको पीसीआर विधिबाट परीक्षण गर्न अनुमति दिएको हो ।
काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेशकुमार गुप्ताले बताउनुभयो ।
उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।
मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।