Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नर्सिङ दिवस आज : पेसा व्यवस्थित नभएको गुनासो

नर्सिङ दिवस आज : पेसा व्यवस्थित नभएको गुनासो

  • बिहिवार, माघ १५ २०७७

  • 822
    SHARES

  • नर्सिङ दिवस आज : पेसा व्यवस्थित नभएको गुनासो

    काठमाडौं । सङ्गठित अभियानको झन्डै छ दशक इतिहास बनिसक्दा पनि नेपालको नर्सिङ पेसा अझै व्यवस्थित हुन सकेको छैन ।

    नर्सलाई न्यूनतम पारिश्रमिक पाउन आन्दोलनमै होमिनुपर्ने बाध्यता छ । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्स पेसाको आदर्श उँचा भए पनि अहिले विदेशिन बाध्य छन् ।

    नर्सबिना अस्पतालको कल्पनासमेत गर्न सकिँदैन तर हजारौँ नेपाली नर्स अझै न्यूनतम सेवा सुविधाबाट वञ्चित छन् । नेपाल नर्सिङ काउन्सिलका सदस्य एवं हेल्पिङ ह्यान्ड अस्पतालमा सेवारत भारती भेटवालले नर्सहरूले निरन्तर गुणस्तरीय सेवा दिए पनि उनीहरूको श्रमको सम्मान हुन नसकेको बताउनुभयो ।

    अस्पतालबाट घर फर्कंदा कतै सङ्क्रमण बोकेर त जाँदै छैन जस्तो लाग्छ, धुलिखेल अस्पतालमा कार्यरत दीपा पण्डितलाई । ‘‘कोभिडका कारण स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूका समस्या थपिएको छ, पुराना समस्या यथावतै छन्,’’ पण्डितको गुनासो छ ।

    नेपालमा नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते नेपाल नर्सिङ सङ्घ स्थापना भए पनि नेपालका नर्स अझै न्यूनतम सेवा सुविधाका लागि लड्न बाध्य भएको नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्रा.कल्पना श्रेष्ठले बताउनुभयो ।

    यसैबीच, बिहीबार नेपालमा विविध कार्यक्रम आयोजना गरी ५९औँ नर्सिङ दिवस मनाइँदै छ । कोभिडका कारण भर्चुअल कार्यक्रम गरेर दिवस मनाइने भएको हो । ‘स्तरीय नर्सिङ हाम्रो सान, सेवा र श्रमको गरौँ सम्मान’ भन्ने नारा बोकेर नर्सिङ दिवस मनाइने भएको छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    बिहिवार, माघ १५ २०७७०८:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij