काठमाडौं । बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले टेकु अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्नुहुने भएको छ ।
कोरोनाविरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउनु हुने छ ।
अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डा.अनुप बाँस्तोला दुवैले पहिलो खोप लिने बताइएको थियो । तर, निर्देशकका रूपमा रहेकाले राजभण्डारीले पहिलो खोप लिने हुनुभएको छ । दोस्रोमा डा. बाँस्तोलाले खोल लिने सूची तय भएको छ ।
निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ ।
सरकारले पहिलो चरणको खोप अभियानका लागि देशभरका ९५ अस्पतालमा खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, विमानस्थल र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप दिइने छ ।
स्वास्थ्य स्वयंसेविकासहित स्वास्थ्यकर्मीको संख्या दुई लाख २५ हजार छ । अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारतले अनुदानमा दिएको हो । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो ।