काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिनुभएको छ ।
भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो।
भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभएको छ। ‘खोप एक साताभित्रै दिन्छौं,’ गौतमले भन्नुभयो।
खोप आइपुगेपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन विमानास्थलमै औपचारिक रुमपा हस्तान्तरण गर्नुभएको थियो। अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिडशिल्ड’ नामक खोप नेपालमा पठाइएको हो।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार ‘कोभिडशिल्ड’ खोप २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएलगत्तै एक डोज प्रमाणीकरणको लागि औषधि व्यवस्था विभागमा पठाइर प्रमाणीकरण भइसकेको छ। खोप पुगेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप सवै जिल्लामा के कति पठाउने भन्नेबारेमा छलफल भइरहेको कोभिड १९ खोप व्यवस्थापनका संयोजक डा.श्यामराज उप्रेतीले बताउनुभयो।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाका अनुसार महाशाखाले आइतबारदेखि सबै प्रदेशमा र प्रदेशमार्फत जिल्लामा र जिल्लामार्फत अस्पतालहरूमा वितरण गरिने छ। साना जिल्लाहरूको हकमा एक या दुई वटा खोप केन्द्र र ठूला सहरको हकमा तीनदेखि पाँच वटासम्म खोप केन्द्र हुन सक्नेछन्। ‘आजसम्म पठाएका छैनौं, आइतबारदेखि सबैतिर पठाउँछौं,’ डा. ढुंगानाले भन्नुभयो।
खोप अभियानको पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीहरू रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। अनुदान स्वरूप आएको यो खोप अग्रपंक्तिमा रहेपनि जोखिममा रहेका समूहहरू दीर्घरोगी तथा बृद्ध–बृद्धाहरूलाई दिइने महाशाखाले जनाएको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ।