काठमाडौं । नेपालमा कोरोनाभाइरस विरुद्धको खोप आगामी झण्डै १० दिन भित्र लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप हप्ता दश दिनमा लगाउन सुरु गरिने संभावना रहेको जानकारी दिनुभयो । देशका सवै जिल्लामा नै एकै चोटी खोप लगाउने तयारी भइरहेको र ती जिल्लामा पुर्याउन केही समय लाग्ने भएकाले अहिले नै मिति तोक्न नसकिएको नेपाली रेडियो नेटवर्कलाई प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा.गौतमले दिएको जानकारी अनुसार हाल आइपुगेको खोप सुरुमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने ब्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा सफाई कर्मचारीलाई दिइने छ । त्यसपछि जोखिमका आधारमा चरणवद्ध रुपमा खोप लगाइने उहाँले बताउनुभयो ।
अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, जोखिममा खटिने अन्य कर्मचारीलाई त्यसपछि खोप लगाइने डा.गौतमले जानकारी दिनुभयो ।
सस्तो, डब्लुएचओले मान्यता दिएको, सुलभ, नेपालको वातावरणमा मिल्ने भएकाले खोप भारतबाट ल्याइएको डा. गौतमको भनाई छ । संसारका २ सय भन्दा बढी देशले खोप लैजान चाहेकाले उपलब्धताको आधारमा विस्तारै अरु खोप पनि ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले बताउनुभयो ।
भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख खोप हिजो नेपाल ल्याइएको छ ।