Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि

इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि

  • शुक्रवार, माघ ९ २०७७

  • 1.1K
    SHARES

  • इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि

    काठमाडौं l कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण नेपालमा खपत हुने इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त विवरणअनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथ गत वर्षको तुलनामा दोब्बर पुगेको छ ।

    गत वर्ष चैत ११ मा लकडाउन गर्नुअघि नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथको परिमाण ३३४ जीबी प्रतिसेकेन्ड रहेकामा अहिले यसको खपत ७७७ जीबी प्रतिसेकेन्ड पुगेको प्राधिकरणको तथ्यांक छ । धेरै काम इन्टरनेटमा निर्भर रहेको र प्रयोगकर्ताले पनि गुणस्तरीय इन्टरनेट सेवा खोज्न थालेकाले खपत बढेको जानकारहरू बताउँछन् ।

    कोभिड–१९ का कारण गरिएको लकडाउनले इन्टरनेटमार्फत काम गर्ने प्रवृत्ति बढेकाले ब्यान्डविथ खपत बढेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिनुभयो । ‘लकडाउनका कारण इन्टरनेट प्रयोग बढेको त छ नै, इन्टरनेट सेवा प्रदायकले पनि बढी ब्यान्डविथको प्याकेज बिक्री गर्न थालेका छन्,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढेको हो ।’

    अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत दोब्बरभन्दा बढी हुँदा यसको तुलनामा आन्तरिक ब्यान्डविथ खपत भने चार गुणा रहेको नेपाल इन्टरनेट एक्सचेन्जका सञ्चालक समिति सदस्य समित जन थिङ बताउँछन् । अहिले आन्तरिक ब्यान्डविथको खपत करिब ३ हजार जीबीपीएस रहेको उहाँले जानकारी दिनुभयो । आन्तरिक ब्यान्डविथको सबैभन्दा बढी खपत गुगलको सेवा प्रयोगका लागि भइरहेको छ । फेसबुक प्रयोगका लागि आन्तरिक ब्यान्डविथको करिब २८ प्रतिशत खपत भइरहेको छ । टिकटक, अमेजन, माइक्रोसफ्ट जस्ता कम्पनीले दिने सेवाका लागि पनि ब्यान्डविथ खपत धेरै भइरहेको तथ्यांक छ ।

    लकडाउनअघि नेपालमा रहेको क्यास सर्भरको ब्यान्डविथ खपत १ हजार १ सय ५२ जीबीपीएस रहेकोमा लकडाउनपछि १ हजार ५ सय जीबीपीएस पुगेको थियो । अहिले आन्तरिक ब्यान्डविथको खपत २ हजार ९ सय २७ जीबीपीएस पुगेको छ । नेपाल इन्टरनेट एक्सचेन्जले नेपालभित्रका इन्टरनेट सेवा प्रदायकहरूबीचको इन्टरनेट आवागमनलाई स्थानीय स्तरमै आदान–प्रदान गरी अन्तर्राष्ट्रिय ब्यान्डविथ बचाउँछ ।

    यो इन्टरनेट एक्सचेन्ज विन्दुले इन्टरनेट सेवालाई छिटोछरितो बनाउन पनि सघाउँछ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथमध्ये सबैभन्दा बढी भारतको एयरटेल र टाटा कम्युनिकेसनबाट आउने प्राधिकरणको तथ्यांक छ । हाल नेपाल भित्रिने ७७७ जीबीपीएस इन्टरनेट ब्यान्डविथमध्ये भारतीय एयरटेलबाट २१९ जीबीपीएस र टाटाबाट २१२ जीबीपीएस आइरहेको छ ।

    नेपाल टेलिकमले चीनबाट हाल ५ जीबीपीएस इन्टरनेट ब्यान्डविथ भित्र्याइरहेको छ । टेलिकमले भारत र चीनबाट गरी ११४ जीबीपीएस ब्यान्डविथ भित्र्याइरहेको छ । नेपालमा हाल सबैभन्दा बढी ब्यान्डविथ वर्ल्डलिंक कम्युनिकेसनले भित्र्याइरहेको प्राधिकरणको तथ्यांक छ ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


    शुक्रवार, माघ ९ २०७७०७:५५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij