काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको ८ करोड १ लाख रुपैयाँ मात्र बक्यौता दिलाउन बाँकी रहेको दाबी गरेको छ ।
मन्त्रालयले यो वर्षसम्म ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रहेकोमा ५७ करोड ३० लाख रुपैयाँ उद्योगीले भुक्तानी गरिसकेको मन्त्रालयका सहसचिव नारायण रेग्मीले बताउनभयो ।
उहाँका अनुसार रौतहटको श्रीराम सुगर मिलले ३५ करोड बक्यौतामध्ये सबै रकम तिरिसकेको छ । सर्लाहीको अन्नपूर्ण सुगर मिलले १७ करोड बक्यौतामध्ये १० करोड ८८ लाख रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको छ । थप १ करोड ७६ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न मिलको खातामा रकम जम्मा गरेको छ । अन्नपूर्णले खातामा जम्मा गरेको रकमसहित कुल १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिसकेको मन्त्रालयको दाबी छ ।
त्यस्तै, नवलपरासीको इन्दिरा सुगर मिलले ४ करोड ७० लाख रुपैयाँ दिनुपर्नेमा १ करोड ५० लाख रुपैयाँ दिएको र लुम्बिनी चिनी मिलले ८ करोड ४१ लाख रुपैयाँ दिनुपर्नेमा ५ करोड १६ लाख रुपैयाँ भुक्तानी दिएको मन्त्रालयको दाबी छ ।
सर्लाहीको महालक्ष्मी सुगर मिलले भने २० लाख रुपैयाँ दिन बाँकी रहेको र सो रकम भुक्तानी सुरु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्तासमेत रहनुभएका रेग्मीले किसानको बक्यौता असुलीमा क्रियाशील रहेको बताउनुभयो ।
यो वर्ष किसानहरूले आन्दोलन सुरु गर्दा ६६ करोड रुपैयाँमा सीमित रहेको थियो ।