काठमाडौं । उखु मिल सञ्चालकहरुले २१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सम्झौता उल्लंघन गरेका छन ।
मिल सञ्चालकहरुले सम्झौताअनुसार भुक्तानी गरेका छैनन् भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगीसँगको रायपछि २१ दिनभित्र असुली गरिदिने समझदारी कार्यान्वयन गर्न चुकेको छ ।
मन्त्रालय र उखु किसानबीच भएको सम्झौताअनुसार सोमबारसम्म ६६ करोड रुपैयाँ बक्यौता उठ्नुपर्ने हो । तर, साँझसम्म करिब ४४ करोड रुपैयाँ मात्रै बक्यौता उठेको छ ।
उद्योग मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार ४३ करोड ९७ लाख रुपैयाँ उठेर थप रकमसमेत सरकारी नियन्त्रणमा आएको छ ।
उखु किसानका संरक्षक राकेश मिश्रले किसानको पैसा केही उठेर बाँकी रकम सरकारी नियन्त्रणमा रहेको जानकारी आएको बताउनुभयो । ‘सरकारले तोकेको समयभित्र रकम उठाइदिन सकेन । यद्यपि, उठाउनुपर्ने रकम उद्योगीबाट जफत गरेर राखिएको छ भन्ने कुरा उद्योग मन्त्रालयले भनेको छ,’ मिश्रले भन्नुभयो, ‘तर, त्यसको भरपर्दो प्रमाण केही पाएका छैनौँ । अहिलेसम्म कति किसानले रकम पाएको हो भन्ने विवरणसमेत दिइएको छैन ।’
जिल्ला प्रशासन कार्यालयहरूको तथ्यांकअनुसार चिनी मिलहरूले पछिल्लो समय थोरै–थोरै रकम भुक्तानी गरेर समय लम्ब्याइरहेका छन ।
नवलपरासीको इन्दिरा सुगर मिलले त अहिलेसम्म भुक्तानी नै सुरु गरेको छैन ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल वा अन्य कर्मचारीसमेत पछिल्लो समय सम्पर्कमा नआएको बताउनुभएको छ । नवलपरासीकै लुम्बिनी चिनी मिलले समेत उत्सुकताका साथ भुक्तानी गरेको छैन । लुम्बिनीले २१ दिनयता २ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिनुभयो । बैंक खाता नभएका किसानसमेत रहेकाले उनीहरूलाई नगदै भुक्तानी गर्ने गरी गृहकार्य अघि बढाएको उहाँले बताउनुभएको छ ।
सर्लाहीको अन्नपूर्ण सुगर मिलले १० करोड १६ लाख रुपैयाँ भुक्तानी दिइसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।
रौतहटको श्रीराम सुगर मिलले ३१ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । अब यो उद्योगबाट थप ५ करोड रुपैयाँ किसानले भक्तानी लिन बाँकी छ । यद्यपि, उद्योगले पछिल्लो २१ दिनमा भने ५ करोड रुपैयाँ मात्रै दिएको हो । किसानले आन्दोलन गरिरहेका वेला उद्योगले २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको थियो ।
आन्दोलन स्थगित यता १२ करोड मात्रै भुक्तानी
उद्योग मन्त्रालयले रौतहटको श्रीराम सुगरको ३६ करोड, नवलपरासीको लुम्बिनी चिनी मिलको ८ करोड र इन्दिरा सुगर मिलको ५ करोड तथा सर्लाहीको अन्नपूर्ण सुगर मिलको १७ करोड रुपैयाँ बक्यौता सोमबारसम्म उठाइदिने गरी किसानलाई आश्वासन दिएर १३ पुसमा तत्कालीन आन्दोलन स्थगित गराएको थियो, तर आन्दोलन स्थगित भएयता मुस्किलले १२ करोड रुपैयाँ बक्यौता मात्र उठेको छ । किनभने, २८ मंसिरदेखि किसानले थालेको आन्दोलनका कारण उद्योग मन्त्रालयसँग सम्झौता भई आन्दोलन स्थगित हुनुअघि ३३ करोड ५० लाख रुपैयाँ बक्यौता उठिसकेको थियो ।
आन्दोलन चलिरहेकै वेला श्रीराम सुगर मिलले २६ करोड, लुम्बिनी चिनी मिलले २ करोड र अन्नपूर्ण चिनी मिलले ५.५ करोड रुपैयाँ भुक्तानी दिएका थिए । पैसा उठ्ने आसमा किसानले आन्दोलन स्थगित गरेपछि उद्योगहरूले भुक्तानीमा ढिलाइ गरेका हुन ।