काठमाडौँ – आइतबार काठमाडौँमा आफ्नो समूहका युवा विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई ठेगान लगाउन शाकाहारी आन्दोलनले बल नपुगेको अभिव्यक्ति दिनुभयो ।
उहाँले अबको आन्दोलन आक्रामक हुनुपर्ने बताउँदै आफू पनि लाठी खान र परि आए टाउको फुटाउन तयार रहेको बताउनुभयो । समग्रमा संसद विघटनविरुद्धको आन्दोलनलाई आक्रामक बनाउन युवा विद्यार्थीहरुलाई प्रचण्डको निर्देशन थियो ।
सोमबार आज पनि प्रचण्डले उस्तै आक्रामक अभिव्यक्ति दिनुभयो । आफ्नो समूहका महिलाहरुको भेलामा सम्बोधन गर्दै दाहालले सिंह जस्तै गर्जेर आन्दोलन तताउन निर्देशन दिनुभयो ।
कम्युनिष्टहरुले सिंहका सन्तानको जसरी गर्जेर आन्दोलन गरे केपी ओलीको असंवैधानिक कदमविरुद्धको आन्दोलन सफल हुने र आफूहरुको जित हुने प्रचण्डको भनाई थियो । उहाँले वर्षाैँसम्म केपी ओलीजस्ता भेडाहरुको संग गरेर आफू पनि भेडाजस्तै बन्न थालेकोमा चिन्ता लागेको बताउँदै अब भने सिंह जस्तै गर्जनुपर्ने दोहो¥याउनुभयो ।
नेकपाको प्रचण्ड नेपाल समूहले आगामी माघ ९ गते काठमाडौँमा बृहत जनप्रदर्शन गर्दै छ । उक्त प्रदर्शनको मिति नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डले युवाहरुलाई उत्तेजित पार्ने अभिव्यक्ति दिइरहनुभएको छ । यसले मुलुकलाई फेरि भिडन्तर्फ लैजाने देखिएको छ ।
राजनीतिक विश्लेषक लोकराज बरालले प्रचण्डको अभिव्यक्तिले आन्दोलनका क्रममा झडपको स्थिति निम्तिन सक्ने बताउनुभयो । युवा जोसलाई आवोगमा ल्याउन नेताहरुले उत्तेजक अभिव्यक्तिको सहारा लिने गरे पनि यसलाई जायज भन्न नसकिने बरालको भनाई छ ।
संसद विघटनविरुद्धको सडक आन्दोलन अहिलेसम्म शान्तिपूर्ण छ । तर प्रचण्डका पछिल्ला अभिव्यक्तिले अबको आन्दोलनमा हिंसा भड्किन सक्ने संकेत दिइरहेको छ ।
यदि प्रदर्शनमा क्रममा अप्रिय घटना भए त्यसको जिम्मा प्रचण्ड र उनले नेतृत्व गरेको नेकपाले लिनुपर्ने आवाज उठिरहेको छ । तर प्रचण्ड समूहका नेता दिनानाथ शर्मा लोकतन्त्रको हरण गर्ने ओली सरकार नै जिम्मेबार हुनुपर्ने जिकिर गर्नुहुन्छ ।
प्रचण्डको नेतृत्वमा १० वर्षसम्म चलेको युद्धले नेपालमा १७ हजार मानिसको ज्यान गुमेको छ । सयौँ बेपत्ता छन् भने कति अंगभंग छन् । युद्ध पीडित यी परिवारको घाउमा मल्हम लाग्न सकेको छैन ।
तर उक्त जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड अहिले संसद विघटनविरुद्ध भइरहेको शाकाहारी आन्दोलनबाट सन्तुष्ट छैनन् । तर के नेताहरुको कुर्सी र पद जोगाउनकै लागि नेपाली जनता फेरि पनि रगतको खोलो बगाउन तयार होलान् र ?