काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा सिंह जस्तै गर्जन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
एकाध महिना जुर्मुराउनासाथ आफूहरुको जित हुने भन्दै उनले सिंह जस्तो गर्जिन कार्यकर्ताहरुलाई सुझाव दिए ।
आफ्नो समूह निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भेडा र सिंहको कथा सुनाए ।
सानैमा आमाबाट छुटेको सिंहको बच्चा भेडासँग बस्न थालेको र ठूलो भएपछि पनि घास खाने, भ्या भ्या गर्ने भएको उनले बताए ।
त्यो अर्को सिंहले देखेपछि सही नसक्नु भएको र भेडा शिकार गर्न छाडेर त्यही सिंहलाई टिपेर लगेको र इनारमा अनुहार देखाएपछि सिंह जस्तो गर्जिएको प्रचण्डले सुनाए ।
उनले अघि भने, ‘केपी ओली जस्ता भेडाहरुको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो ? त्यसैले ऐना अगाडि उभिएर हेरौं, सिंहका सन्तान हौं भनेर गर्जियो भने केपी ओली जस्ता भेडाहरु... ‘।’
भोलि महिलाहरुको मात्र जुलुस, पर्सि मोटरसाइकल र्याली, ९ गते देशभरका साथै काठमाडौंमा विशाल प्रदर्शन गर्ने उनले सुनाए ।
आन्दोलन बढाउँदै लैजाने भन्दै उनले भने ‘१६ गते आम रुपमा जनतालाई उठाएर आम हड्तालतिर जानुपर्ने हुनसक्छ ।’
प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताए।
सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरे ।
उनले भने, ‘लक्षण गतिलो देखिएन । जनताले आफ्नो फैसला ढिला गर्न हुने भएको छैन । जनताको अदालतको फैसला आयो भने सर्वोच अदालतलाई पनि सजिलो होला, निर्वाचन आयोगलाई पनि सजिलै होला ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खलनायक र गणतन्त्रलाई बच्चासँग तुलना गर्दै उनले अघि भने, ‘त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, अनि हामी हेरेर बस्न सक्छौं? त्यसकारण जनअदालतमा फैसला सुनाउने दिन आयो । ९ गते देशभर र विशेषगरी काठमाडौंको सडकबाट हाम्रो फरियाद, अन्तरआत्माको आवाज सुनाउन चाहन्छौं ।’