काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आन्दोलनमा आफू लाठी खान तयार रहेको बताएका छन्।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अनेरास्वियूको उपत्यकाव्यापी भेलामा सम्बोधन गर्दै प्रचण्डले युवा विद्यार्थीहरुलाई आन्दोलनलाई आक्रामक बनाउन निर्देशन दिए।
२०६२–६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइराला र माधव नेपाल लगायतले जस्तै यसपटक आफूलाई लाठी खान मन लागेको उनको भनाइ छ।
उनले भने, ‘मेरो टाउको चिलाएको हो कि के हो, यसपटक लाठी खान मन छ।
प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो।’
कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए ।