काठमाडौं । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । अझै दुईरतीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि भने मौसम खुल्दै जाने मौसमविद् विभूति पोखरेलले बताउनुभएको छ ।
हावामा पानीको मात्रासहितको दक्षिण पूर्वी अरब सागरबाट मौसमी प्रणाली नेपाल भित्रिएकाले तीन दिनसम्म नै मौसम बद्ली हुने उहाँको भनाइ छ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने खासै नरहेको मौसमविद् पोखरेलले बताउनुभयो । अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम बद्ली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने मौसमविद् पोखरेलको भनाइ छ ।
हिजो न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज घटेर ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । हिजो अधिकतम १८ दशमलव २ डिग्री रहेको उपत्यकाको तापक्रम आज १६–१८ सम्म पुग्ने अनुमान गरिएको छ ।