Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तीन वर्ष केपी ओलीलाई तेल लगाएँ, तर कुकुरको पुच्छर के सुध्रिन्थ्यो : प्रचण्ड

तीन वर्ष केपी ओलीलाई तेल लगाएँ, तर कुकुरको पुच्छर के सुध्रिन्थ्यो : प्रचण्ड

  • बुधवार, पौष २९ २०७७

  • 1.3K
    SHARES

  • तीन वर्ष केपी ओलीलाई तेल लगाएँ, तर कुकुरको पुच्छर के सुध्रिन्थ्यो : प्रचण्ड

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुकुरको पुच्छरको संज्ञा दिनुभएको छ ।

    पार्टी एकता भएको तीनवर्षमा ओली सुध्रिन्छन् कि भन्ने आशामा तीन वर्ष तेल लगाएर बसेको प्रचण्डले बताउनुभयो । तर ती सबै मेहेनतहरु खेर गएको बताउँदै उहाँले कुकुरको पुच्छर कहिल्यै नसुध्रिने रहेछ भन्ने महसुस अहिले भइरहेको टिप्पणी गर्नुभयो ।

    आफ्नो समूहको कार्यकर्ता भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै दाहालले पार्टीलाई जोगाउन हिजो केपी ओलीलाई तेल लगाएर सेवा गरेको भए पनि अब लडाईँ सुरु भएको बताउनुभयो ।

    यसअघि काठमाडौँमै भएको ओली समूहको कार्यकर्ता भेलामा प्रधानमन्त्री समेत रहनुभएका ओलीले तीन वर्षसम्म आफू प्रचण्डलाई धोएर बसेको टिप्पणी गर्नुभएको थियो । सफा गरौँ भनेर धुने क्रममा डोबका डोब साबुन सकिए पनि प्रचण्ड जस्ताको त्यस्तै भएर निस्कने गरेको ओलीको भनाई थियो ।

    ओलीले आफूलाई तीन वर्षसम्म धोएर बसेको टिप्पणी गरेपछि त्यसको जवाफमा प्रचण्डले पनि उहाँलाई तीन वर्ष तेल लगाएर बसेको तर कुकुरको पुच्छर जस्ताको त्यस्तै रहेझैँ ओलीलाई सुधार्न नसकेको टिप्पणी गर्नुभएको हो ।

    यस्तै प्रचण्डले विदेशी शक्ति केन्द्रहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्र सुनाएको टिप्पणी गर्नुभएको छ । जी न्यूजको अन्तवार्ता पनि ओलीको नाटक रहेको प्रचण्डको दाबी छ । अहिले भारतले भनेर संसद भंग गरिएको हो भनेर उठिरहेको सवालप्रति प्रचण्डले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।

    जनतासमक्ष सुखी नेपाली समृद्ध नेपालको नारा बाँडेको नेकपा अहिले आफै चिरा परेको छ । नेताहरु आफूपक्षीय कार्यकर्ता भेला गर्दै एक अर्काको उछितो काटेर रमिता देखाइरहेका छन् ।

    प्रचण्डले आजको कार्यक्रममा केपी ओलीको पारा भाङ खाएर नाचेको ताण्डव नृत्य जस्तो देखिएको टिप्पणी गर्नुभएको छ । तर आम नागरिकको आँखाले हेर्दा समग्र नेकपा पार्टी नै अहिले ताण्डव नृत्यमा रहेको देखिन थालेको छ ।


    बुधवार, पौष २९ २०७७०७:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij