काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन्।
नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर्पार्टी अन्तरक्रियामा नेता रिजालले ज्ञानेन्द्र जस्तै ओली पनि छिट्टै बिदा हुने बताए ।
‘आज निर्वाचनबाट सत्तामा गएका ओली बिदा हुँदैछन् । हिजो ज्ञानेन्द्र बिदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने ।
उनले संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताए।
संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गरे । दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्ने कांग्रेस पनि सहमत भएको उनको भनाइ थियो ।
तर, संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरु संविधानको पक्षमा उभिँदा ओली उल्टो बाटो हिँडेकोमा उनले आश्चार्य प्रकट गरे ।
रिजालले व्यक्ति नभएर प्रवृत्ति भएको बताए, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो ।’