काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक जारी रहेको स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिनुभयो । स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो ।
आजको स्थायी समिति बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा थप छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिनिधि सभा विघटनपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ । यस समूहले हिजो मात्रै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।
यस्तै, नेपाली कांग्रेसको पनि केन्द्रीय कमिटी बैठक पार्टीका कार्यालय सानेपामा जारी छ । बैठकमा प्रधानमन्त्रीको कदमविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।
कांग्रेसमा संस्थापन पक्ष मध्यावधि निर्वाचनमा जाने पक्षमा छ भने संस्थापनइतर पक्ष संसद पुर्नबहाली गर्नुपर्ने अडानमा छ ।