काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना चैतसम्म राजधानी ल्याइपु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत् सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी (सिडिई) राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टसमेत अध्ययन गरी सकेको हुँदा अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी रहेको छ । प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ ।
पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय लाग्ने सूचना अधिकारी पन्तले बताउनुभयो ।
गत असारमा फुटेका दुईवटा ढोकालाई भारतीय कम्पनीबाट जडान भइसकेको हुँदा सुरुङको ९९ प्रतिशत् काम सम्पन्न भएको छ । हेलम्बुको अम्बाथानस्थित मुहानमा बाँधको काम भने ९० प्रतिशत मात्र सम्पन्न भएको छ । बाँधको साथै पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको छ ।