काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका लागि २५ हजार मेट्रिक टन युरिया मल खरिद् तथा आयातको जिम्मा पाएको कम्पनी शैलुङ इन्टरप्राइजेजले तेस्रोपटकको ठेक्का पनि अलपत्र पारेको छ । यसअघि पनि शैलुङले मल आयातका दुईवटा ठेक्का अलपत्र पारिसकेको छ ।
गत भदौमा २५ हजार मेट्रिकटन र कात्तिकमा ३० हजार मेट्रिकटन गरी यसअघि नै शैलुङले ५५ हजार मेट्रिकटन मल खरिद्को ठेक्का अलपत्र पारेको थियो ।
कृषि सामग्री कम्पनी लिमिटेडका खरिद् महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेलका अनुसार तेस्रो ठेक्का सम्झांैताको म्याद सकिएको २० दिन कटिसकेको छ । अब त्यसका लागि कारबाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
मल आयातमा बदमासी गरिरहेको शैलुङ इन्टरप्राइजेजले दोस्रोपटकको ठेक्कामा मल नल्याएबापत कारबाही गर्न बाटो खुलेको छ । शैलुङमाथि कारबाही नगर्न कृषि सामग्री कम्पनीविरुद्ध जारी भएको अन्तरिम आदेशलाई बुधवार उच्च अदालत पाटनले खारेज गरेपछि कारबाहीका लागि बाटो खुलेको हो ।
समयमै मल आयात नगरेको भन्दै कृषि सामग्री कम्पनीले शैलुङको ४ लाख ६६ हजार २ सय ५० अमेरिकी डलर धरौटी रकम जफत गरेपछि शैलुङले कृषि सामग्रीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।