Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आन्दोलनबाट निर्वाचनको तयारी पनि हुन्छ : गगन थापा

आन्दोलनबाट निर्वाचनको तयारी पनि हुन्छ : गगन थापा

  • बिहिवार, पौष ९ २०७७

  • 1.3K
    SHARES

  • आन्दोलनबाट निर्वाचनको तयारी पनि हुन्छ : गगन थापा

    काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले आन्दोलनबाट निर्वाचनको पनि तयारी हुने भएकाले काँग्रेस तत्काल आन्दोलनमा जानु पर्नेमा जोड दिनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु संविधान विपरित हो भन्ने कुरामा काँग्रेस भित्र एक मत भएपछि त्यसका विरुद्धका कसरी प्रस्तुत हुने भन्नेमा मात्रै फरक फरक धारणा रहेको उहाँको भनाई थियो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मुल विचारमा फरक मत छैन, तर प्रस्तुती मात्रै फरक हो, ओलीले कु गरेको हो भन्नेमा एक जना पनि अलमलमा हुनुहुन्न ।”

    प्रधानमन्त्री ओलीले निर्वाचन गराउनका लागि संसद भंग गरेको हो भन्ने भ्रममा नपर्न आग्रह गर्दै निर्वाचन नहुने संभावना अत्यधिक भएकाले निर्वाचनको तयारी मात्रै भनेर बस्नु गलत हुने तर्क उहाँले गर्नुभयो ।

    नेता थापाले ओलीले कु गरेको, सरकार असफल भएको, भ्रष्टाचार गरेको, मुलुक दुर्घटनामा जानुमा नेकपाका सवै शिर्ष नेता दोषी भएको कुरा बताउन पनि जनताको बीचमा तत्काल जानु पर्ने खाँचो औल्याउनुभयो ।

    काँग्रेसले सडक आन्दोलन र गाउँ गाउँ जाने कार्यक्रम एक्लै गर्नुपर्ने बताउदै उहाँले अहिले निर्वाचन भन्दै बस्यो भने प्रतिक्रियावादीहरु मौलाउने खतरा रहने दावी गर्नुभयो ।

    जनतासँग अन्तरक्रिया गर्न, जनतालाई सजग गराउन र जनताका मुद्धा उठान गर्न संसद बन्द गरिदिएकाले सडकको विकल्प पनि नभएको उहाँको भनाई छ ।

    “जनताको घरदैलोमा गएर राष्ट्रपति र प्रधनमन्त्रीले घात गरे, सरकार असफल भयो, नेकपा निकम्वा भयो भन्ने सन्देश दिनुपर्छ, त्यसो गर्दै गर्दा निर्वाचनको तयारी पनि हुन्छ नी,” नेता थापाले भन्नुभयो ।

    निर्वाचनमा जानुहुन्न भन्नेमा काँग्रेस भित्र कोही पनि नरहेको जानकारी दिदै उहाँले सिंगो नेकपाको असफलताका बारेमा गाउँ गाउँमा पुगेर बताउदै गर्दा पनि निर्वाचनको तयारी हुने धारणा राख्नुभयो ।

    उहाँले अदालतलाई कुरेर बस्ने भन्दा पनि जनताको आवाज अदालतसम्म पुर्याउन पनि काँग्रेसले आन्दोलन गर्नुपर्ने तर्क गर्नुभयो ।

    “अदालतलाई प्रभावित पार्ने होइन, दवाव दिने होइन, तर आफ्नो कुरा सुनाउने र संविधान अनुसार निर्णय गर्न झकझक्याउन त काँग्रेसले मिल्छ नी,” उहाँले भन्नुभयो ।

    संविधानको दुरुपयोग रोक्न राष्ट्रपति भन्ने संस्था चुकेपनि अव अदालत नचुक्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    अदालतको निर्णयलाई काँग्रेसले मान्ने स्पष्ट पार्दै उहाँले राजाको शाही कदमलाई उल्ट्याएको अदालतले अहिले पनि सही निर्णय गर्ने भरोशा व्यक्त गर्नुभयो ।

    “अदालतको निर्णय मान्नुपर्छ, अदालतले चाहिं संविधान अनुसार मात्रै निर्णय गरे पुग्छ, अरु केही गर्नुपदैन,” उहाँले भन्नुभयो ।
    नेता थापाले आफुहरुका विरुद्धमा लागेका आरोप र व्यक्त भएका आशंकाहरुको एक मुष्ट निवारण गर्न अदालत, प्रधानन्यायाधिश र काँग्रेस सभापति शेरबहादुर देउवालाई अवसर आएको बताउनुभयो ।

    काँग्रेस अन्यौलमा छ भन्ने सन्देश जान थालेकाले तत्काल बैठक टुंग्याएर गाउँ गाउँमा जान थालिहाल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

     


    बिहिवार, पौष ९ २०७७०८:२०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij